झापा  । झापाको कचनकवल गाउँपालिकामा रहेको  श्री नौलो भबिस्य साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक युवराज खत्री १ करोड ४६ लाख रकम हिनामिना गरी फरार भएका छन्।

कचनकवल-७ स्थायी ठेगाना भएका खत्री गत चैत ११ गतेदेखि फरार भएका हुन् ।

OM Sai Pathibhara Hospital

सहायक प्रबन्धक निरुमाया राजवंशीसँग मिलेर दुवैले त्यति रकम हिनामिना गरेको संस्थाकी अध्यक्ष लक्ष्मी सुब्बाले बताएकी छन ।

प्रबन्धक खत्री र सहायक प्रबन्धक राजवंशीले १ करोड ४६ लाख रकम हिनामिना गरेको अध्यक्ष सुब्बाले बताइन् । सहायक प्रबन्धक निरुमाया राजवंशीलाई संस्थाले निलम्बन गरिसकेको छ ।

राजवंशीलाई निगरानीमा राखेर  संस्थाको हरहिसाब हेर्ने काम भइरहेको अध्यक्ष लक्ष्मी सुब्बाले जानकारी दिइन् । साना किसान कृषि सहकारी संस्थामा ६६४ जना शेयर सदस्य रहेका छन् ।

सहकारीमा भएको हिनामिनाका विषयमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी परेकाले  कचनकवल गाउँपालिकाले छानबिन सुरु गरेको छ।

गाउँपालिकाले सहकारी शाखा अधिकृत गौरव रिजालको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।

सो समितिले प्रारम्भिक प्रतिवेदन बुझाइसकेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

प्रतिवेदनमा धेरै रकम अपचलन भएको र प्रबन्धक खत्रीले बैंकबाट झिकेको १० लाख रकमसमेत नबुझाएको उल्लेख छ।

हिनामिनामा संलग्न भनिएका खत्री र राजवंशीको परिवारलाई ७ दिनभित्र आफ्नो जवाफ पेस गर्न पत्र पठाइएको उपाध्यक्ष भट्टराईले बताए ।