बिर्तामोड / फागुन ७ गतेदेखि शुरु हुने  भद्रपुर झापा गोल्डकपको मिति नजिकिएसँगै तयारी तीव्र पारिएको छ । गोल्डकपका लागि १ करोड ५० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

गोल्डकपका महासचिव तथा भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवन कुमार श्रेष्ठका अनुसार नेपाल, भारत तथा भुटानका गरी १० टिमको सहभागिता हुनेछ । गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि झण्डै एक करोड ५० लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।

OM Sai Pathibhara Hospital

आयोजक टिम भद्रपुर ११ मा नेपाल तथा क्यामरुनका ख्यातिप्राप्त ए डिभिजनका खेलाडी सहभागी हुने श्रेष्ठको भनाइ छ । यस्तै नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, मनाङमर्स्याङ्दी लगायत नेपालका ख्यातिप्राप्त ए डिभिजन टिमको प्रतियोगितामा सहभागिता रहने छ । आयोजक समितिका महासचिव श्रेष्ठका अनुसार प्रथम पुरस्कार १३ लाख र द्वितीय पुरस्कार ७ लाख राशिको रहेको छ ।

गोल्डकपलाई निरन्तरता दिन संस्था विधिवत दर्ता गरिएको छ भने भद्रपुर झापा गोल्डकपको आजीवन सदस्य बनाउँदै लगिएको छ । मेची रङ्गशालामा हुने गोल्डकपको लागि खेलमैदानको स्तर उन्नती गर्ने काम तीब्र गतिमा भइरहेको छ । आयोजक समितिले नेपाल तथा भारतका समेत खेलप्रेमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाउने जनाइएको छ ।

गोल्डकपमा जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क हेर्न दिने व्यवस्था मिलाइने र भद्रपुर नगरपालिकाभित्रका सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत आलोपालो खेल हेर्न दिइने श्रेष्ठले बताए ।

भौतिक पूर्वाधार भएर पनि झापाको भद्रपुरस्थित मेची रङ्गशाला दुई दशकयता खेल विहीन अवस्थामा छ । यस्तो शून्यता हटाउन भद्रपुर नगरपालिकाले पहिलो पटक नीतिगत रूपमै बजेटमा समेटेर मेची रङ्गशालालाई चलायमान बनाउन ‘भद्रपुर झापा गोल्डकप’ को आयोजनाका लागि वातावरण तयार पारेको हो । 

नगरपालिकाको संरक्षणमा भद्रपुर झापा गोल्डकप आयोजक समिति निर्माण गर्दै यही फागुन ७ गतेबाट राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुने गरी ए डिभिजन स्तरीय प्रतियोगिता सम्पन्न हुन लागेकोमा स्थानीय नागरिकमा उत्साह थपिएको छ । 

सुस्त बन्दै गएको भद्रपुरको आर्थिक तथा व्यापारिक गतिविधि बढ्नेमा स्थानीय विश्वस्त हुने वातावरण बन्दै गइरहेको नगर प्रमुख गणेश पोखरेलको भनाइ छ ।