एजेन्सी / बङ्गलादेशमा जारी चौथो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दैछ । खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो साढे ४ बजे सुरु हुनेछ । नेपाल भुटानलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । यसअघि नेपालले भुटानलाई ७–० र बंगलादेशलाई १–० ले पराजित गरेको थियो । भुटान पहिलो जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ । प्रतियोगिताबाट बाहिरिसकेको उसले यसअघि नेपालसँग ७–० र घरेलु टोलीसँग ८–० तथा ९–० को फराकिलो हार बेहोर्‍यो । यस प्रतियोगिताअघि यी दुई टोलीले तीनपटक एकअर्काको समान गरेका थिए ।

जसमा भुटानले एक खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ । २०१७ को पहिलो भेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । २०१८ मा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पेनाल्टी सुट आउटमा ४–३ ले पराजित भएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो। २०१९ को पछिल्लो भेटमा पनि यी दुईले १–१को बराबरी खेलेका थिए । यदि नेपालले आज जित वा बराबरीको नजिता निकाले प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली बङ्गलादेशसँग बराबरी खेल पनि उपाधि हात पार्नेछ । तर, हारेको खण्डमा भने नेपाललाई बङ्गलादेशविरुद्ध जित निकाल्नैपर्ने दबाब हुनेछ ।