एजेन्सी / विश्व फुटबलको महासंग्राम फिफा विश्वकप २०२२ कतार सुरु हुन अब दुई साता भन्दा पनि कम समय भए सँगै खेल तालिका  सार्वजनिक भएको छ  । पहिलो पटक जाडो मौसममा हुन लागेको विश्वकप फुटबल विश्वका अधिकांश क्षेत्रमा सञ्चालन भइरहेको क्लब लिग बीचमा स्थगित गरेर हुन लागेको छ । नोभेम्बर २० मा कतारमा विश्वकप सुरु हुँदैछ भने मुख्यतः युरोपका क्लब लिग खेलहरू त्यसको एक साता अघि मात्र स्थगित हुनेछ । युरोपका शीर्ष लिगका खेलहरू नोभेम्बर १२ र १३ पछि ब्रेक गरिनेछ । विश्वकप डिसेम्बर १८ मा सकिनेछ र त्यसको एक सातापछि लिगका खेलहरू पुनः सुरु हुनेछन् ।

त्यसैले यस पटक विश्वकप फुटबल यसअघिका भन्दा फरक हुनेछ । सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप फुटबलको २२ औं संस्करण हो । पहिलो पटक मध्यपूर्वी देशमा हुन लागेको विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न समयका हिसाबले नेपालीलाई पनि सहज हुनेछ । उद्घाटन खेल समूह ‘ए’ मा रहेका आयोजक कतार र इक्वेडरबीच अल खोरस्थित अल बायत स्टेडियममा नोभेम्बर २० मा हुनेछ । पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपका लागि विभिन्न ८ स्टेडियम तयार पारेको छ ।