• आर. शर्मा
बिर्तामोड / चुनावको मिति नजिकिएसँगै झापा निर्वाचन क्षेत्र नं.३ को चुनावी भिडन्त चाख लाग्दो बन्दै गएको छ । गणतन्त्रका सारथी र राजतन्त्रका हिमायतीबीचको प्रतिस्पर्धाले चुनावी भिडन्त चाखलाग्दो बन्दै गएको हो । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला दुवैले यस पटकको निर्वाचनमा राजनीतिक विचारको आधारमा प्रतिस्पर्धा हुने बताइरहेका छन् । वैचारिक रुझानलाई चुनावी एजेण्डा बनाउने ज्यादै कम निर्वाचन क्षेत्र मध्ये झापा ३ पर्ने भएको छ । 

हिन्दु राज्य र राजतन्त्र पुनःस्थापना अभियानका सबैभन्दा प्रखर नेतृत्व कर्ता राजेन्द्र लिङदेनलाई नेकपा एमालेको साथ छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा निर्णयक भूमिका निर्वाह गरेका कृष्ण प्रसाद सिटौलालाई नेकपा एकीकृत समाजवादी, माओवादी लगायतका गणतन्त्रवादी दलहरूको दर्बिलो साथ छ । 

लिङदेन र सिटौलावीचको चुनावी प्रतिस्पर्धा चाख लाग्दो हुनुको अर्को कारण २०७४ को नतिजा पनि हो । त्यसबेला देशभर वाम गठबन्धन थियो तर, अन्तिममा आश्चर्यजनक निर्णय गर्दै वाम गठबन्धनले झापा ३ मा राजेन्द्र लिङदेनलाई सघाउँदा सिटौला पराजित बने । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु सुरक्षित हुन राप्रपा सँग तालमेल गरेको विषयले त्यसबेला लामो समय सम्म चर्चा पायो । गणतन्त्र प्राप्तिका लागि दशक लामो समय सशस्त्र युद्ध गरेको माओवादी यसपटक लिङदेनको साथमा छैन । तर, अर्को ठूलो कम्युनिष्ट पार्टी एमालेले भने फेरी राजावादी लिङदेनलाई साथ दिएको छ । एमालेकै सहयोगमा पुनः चुनाव जित्ने योजनामा लिङदेन छन् । 

कांग्रेस नेता सिटौला माओवादी सहितका सत्ता गठबन्धनका सहयात्री दलहरूको साथमा अघिल्लो पटकको चुनावको बदला लिने पक्षमा छन् । लिङदेन स्थानीय निर्वाचनको गणितलाई जितको आधार मानेका छन् भने सिटौलाले त्यो गणित भन्दा आफ्नो राजनीतिक एजेण्डालाई मुख्य अस्त्र मानेका छन् । स्थानीय निर्वाचनमा यो क्षेत्रमा एमाले र राप्रपाका वडाध्यक्षका उम्मेदवारले पाएको मत सत्तागठबन्धनका दलहरूको भन्दा धेरै छ । 

१ लाख ३१ हजार ४ सय ३२ मतदाता रहेको झापा ३ मा भद्रपुर नगरपालिका १ देखि ८ सम्मका आठ वडा हल्दीबारी, बाह्रदशी र कचनकवल गाउँपालिकाका सबै वडा र बिर्तामोड नगरपालिकाको १० नम्बर वडा सहित कूल २८ वडा पर्दछन् । यो क्षेत्रका २८ वडा मध्ये कांग्रेस एक्लैले १६ वटा वडा जितेको छ भने राप्रपाले ५ एमालेले ४ , माओवादीले २ र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

यो क्षेत्रका वडामा एमालेको वडाध्यक्षले पाएको मत २१ हजार ८५ छ । कागे्रसको २५ हजार ९४९ छ राप्रपाको २१ हजार १५९, माओवादी केन्द्रको ६ हजार ६८८ र जनता समाजवादीको ५३६ मत छ । मंसीर ४ मा हुने मतदानको दिन झापा को निर्वाचन क्षेत्र नं. –३ मा मौजुदा गणित हावी होला कि सिटौलाले अनुमान गरे झै राजतन्त्र वा गणतन्त्र भन्ने वैचारिक रुझान निर्णायक बन्ला रुसम्भवत यही प्रश्नको उत्तरले यो क्षेत्रको विजेताको टुगंो लगाउने छ ।

गणितले लिङदेनको पल्लामारी देखिए पनि उनलाइ यसपटक अघिल्लो निर्वाचनको जस्तो सहज छैन । एमालेले राप्रपालाई यसपटक सघाउने निर्णय गरेपछि एमाले यूवा नेता डम्बर बहादुर गिरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेका पुराना नेता कार्यकता पनि पार्टीको यो निर्णयबाट सन्तुष्ट छैनन् । एमालेका एक पुराना नेता भन्छन् – ‘हामीले राप्रपाको घोषणा पत्र लिएर घरदैलोमा कसरी जानु उसले आफ्नो घोषणापत्रमा राजतन्त्रको मुद्धालाई प्रमुख रुपमा उठाएको छ ।’ उनको जस्तै प्रश्न धेरै एमालेजनको छ । यही एमालेको आबद्ध मतदाताले राजतन्त्रको पक्षघरलाई मत दिन अप्ठ्यारो माने भने गणितले काम नगर्ने प्रस्ट देखिन्छ । 

राप्रपाको अध्यक्ष बनेपछि राजेन्द्र लिङदेनलाई यसपटक चुनाव जित्नैपर्ने दबाव छ । कांग्रेस नेता सिटौलालाई पनि यसपटक चुनाव जित्नु पर्ने अकरिलो अवस्था छ । यी दुई प्रभावशाली नेता मध्ये जसले चुनाव हारेपनि ओझेलमा पर्ने मतदाताको बुझाई छ । एकथरी मतदाता एकपटक कृष्णप्रसाद सिटौलाले वैचारिक एजेण्डाको आधारमा चुनाव जित्ने दावी गर्छन् । 

उनले भद्रपुरको एक चुनावी कार्यक्रममा भने झापा गणतन्त्रको मैदान हो , गणतन्त्रको मैदानवाट राजतन्त्रवादी उड्न खोज्दै छन्, अब राजतन्त्रको चित्ता झापावाट पखाल्नुपर्छ भनेर म झापावाट चुनाव लड्दै छु । राजेन्द्र सँग होइन म ज्ञानेन्द्र शाह सँगै चुनाव लड्न तयार छु । नेता सिटौलाले पछिल्लो ५ वर्षमा यस क्षेत्रका सासंदले विकास निर्माणका काममा कुनै पहल नगरेको तर, आफूले गरेका विकास निर्माणका कामको जस लिने लिङदेनले जनता ढाट्ने गरेको बताएका छन् ।