झापा / गण्डकी प्रदेशमा जारी नेपाली खेलकुदको कुम्भमेला नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा रङ्गशालामा आज विशेष समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुदको समापन गरिनेछ ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौँ राष्ट्रिय खेलकुदको समापनमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहनेछ । प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।

OM Sai Pathibhara Hospital

समापनमा १० औं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । १०औं राष्ट्रिय खेलकुद २०८१ सालको मङ्सिरमा आयोजना हुनेछ । यस्तै, समापनमा प्रतियोगिताको विजेता टोलीलाई ट्रफी प्रदान गरिनेछ । राष्ट्रिय खेलकुदमा विजेताका लागि पहिलोपटक ट्रफी बनाइएको हो ।

प्रतियोगिताको  समापनमा सहभागी  ११ टोलीले मार्चपास गर्नेछन् ।त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिनेछ । २८ असोजबाट सुरू प्रतियोगितामा १६,१५७ खेलाडीले ३६ खेलका ४०४ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

यसपटक तीन विभागीय टोली, ७ प्रदेश र एनआरएनए गरी ११ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको अन्तिम दिन एथलेटिक्स, भलिबल, कबड्डी, फूटबल लगायत केही खेलका प्रतिस्पर्धा हुनेछ ।