झापा / गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको कुम्भमेला आज (शुक्रबार) देखि औपचारिक रुपमा सुरु हुँदैछ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङका अनुसार भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ः०० बजे खेलकुदको पोखरा रङ्गशालामा उद्घाटन गर्नेछन् ।

उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा पुगिसकेका छन् भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा पुगिसकेका बताइएको छ ।
उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी छ ।
यसअघि कुल सात हजार सात सय ९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने घिसिङले जानकारी दिए ।
प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोलीले सहभागीता जनाएका छन् ।
बृहत राष्ट्रिय खेलकुदमा प्रदर्शनी सहित ३८ खेल हुँदै गर्दा पुरुष क्रिकेट अघिल्लो महिना नै काठमाडौंमा सकिसकेको छ । यसैगरी महिला क्रिकेट, फुटबल, हक्की, ह्यान्डबल, बुद्धिचाल र फेन्सिङका खेलहरु सुरु भइसकेका छन् ।
¥याफ्टिङ एन्ड कनोइङ, मुवाथाई, पेनकेक सिलात, हाप्किडोलगायतका खेललाई प्रदर्शनी खेलका रुपमा नवौँ राष्ट्रिय खेलकुदमा समावेश गरिएको छ । पूर्वाधार अभावका कारण सुटिङको प्रतियोगिता काठमाडौंमा हुनेछ ।
यसैगरी आर्चरी, एथ्लेटिक्स, ब्याड्मिन्टन, पुरुष बास्केटबल, बक्सिङ, महिला क्रिकेट, फेन्सिङ, पुरुष फुटबल, जिम्न्यास्टिक, ह्यान्डबल, खो खो, लन टेनिस, सफ्ट टेनिस, स्क्वास, पुरुष भलिबल र उसु पोरख रंगशालामा हुनेछन् भने पुरुष फुटबलका सुरुआति केही खेल भने पोखराकै गोस्टेघाटमा हुनेछन् । यसपछि पोखरा रंगशालामै हुने बताइएको छ ।
यसैगरी महिला फुटबल स्याङजाको वालिङ, महिला भलिबल र तेक्वान्दो म्याग्दी, महिला बास्केटबल तनहुँ, फुलकन्ट्याक्ट कराँते र जुडो पोखराको प्रदर्शनी हल, शारीरिक सुगठन पोखरा सभागृह, बुद्धिचाल गोर्खा, पौडी पोखराको फिस्टेल एकेडेमी, टेबल टेनिस पोखराकै कोल्मा बाहकोट समाज हल, सेपाक ताक्रो र कुस्ती नवलपुर, महिला हक्की पोखरा लामाचौर, पुरुष हक्की ह्याम्जा, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघ, गल्फ पोखराको हिमालयन गल्फ कोर्स, साइक्लिङ पोखराको रानीबन, ट्रायथलन पोखरा लेकसाइड, प्याराग्लाइडिङ पोखरा साराङकोट, रग्बी भण्डारढिक पोखरा, कबड्डी पोखरा माटेपानी, कराँते पर्वत, आइटिएफ तेक्वान्दो बाग्लुङमा हुनेछन् ।
पोखरामा दोस्रो पटक आयोजना हुने लागेको राष्ट्रिय खेलकुदलाई नेपाल सरकारले ८० करोड बजेट छुट्टाएको छ । उद्घाटन समारोहमा मात्रै तीन करोड खर्च हुने बताइएको छ ।