काठमाडौँ / बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले जिल्ला अदालत लगेको छ ।
एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपलाई सोमबार बिहान कार्यालय खुल्नेबित्तिकै प्रहरीले जिल्ला अदालत काठमाडौँमा लगेको हो ।
अदालतमा म्याद थप गर्ने तयारी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासतमा छन्।
यसअघि दशैँ बिदाका कारण प्रहरीले म्याद थप गर्न सकेको थिएन । सोमबार अदालतबाट म्याद थप गरी लामिछानेसँग बयान लिन सुरु गरिने प्रहरीले जनाएको छ ।
किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।






































