विराटनगर / विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पीक, साफ र एसियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच वर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । 

ओलम्पीकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरूले निःशुल्क उपचार पाउने भएका हुन् । खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्ने बताइएको छ । । 

OM Sai Pathibhara Hospital

प्रदेश १ खेलकुद विकास बोर्डले आइतबार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियनओलम्पिक खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो । यो विषयमा नेपाल ओलम्पियन्स एशोसिएसन काठमाडौं र प्रदेश १ खेलकुद विकास बोर्ड विराटनगरले नोबेल र केएमसीसँग छुट्टा–छुट्टै सम्झौता गरेका छन् ।

Kheladi-Upachar-Samman-Photo (8)

प्रदेश १ खेलकुद विकास बोर्डसँग भएको सम्झौता पत्रमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा. सुनिल शर्मा, नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल र प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले हस्ताक्षर गरेका छन् । 

त्यस्तै, ओलम्पियन्स एशोसिएसनसँग भएको सम्झौतामा पनि काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा. शर्मा, नोबेलका प्रबन्ध निर्देशक बराल र एशोसिएसनका अध्यक्ष दीपक बिष्टले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार अन्तर्राष्ट्रिय खेलकुद ओलम्पीकमा भाग लिएका देशभरका सम्पूर्ण खेलाडीले नोबेल र केएमसीमा निःशुल्क उपचार पाउँनेछन् । साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का सम्पूर्ण खेलाडीहरुलाई पनि नोबेल र केएमसीले निःशुल्क उपचार गर्नेछ । 

Kheladi-Upachar-Samman-Photo (13)

उनीहरूले दुवै अस्पतालको क्याबिनमा रहेर उपचार गराउँदा पनि शुल्क लाग्नेछैन । ओलम्पिकमा हालसम्म नेपालका ८८ खेलाडीले भाग लिएका छन् । जसमध्ये १० जनाको मृत्यु भइसकेको छ । यता, प्रदेश १ का २२५ खेलाडीले साफ र एसियन खेलकुदमा भाग लिएका छन् । उनीहरूले निःशुल्क उपचार सेवा पाउनेछन्

यता, ती खेलाडीका आमा–बुवा, श्रीमान–श्रीमती तथा छोरा–छोरीको उपचारमा पनि दुवै अस्पतालले ५० प्रतिशत छुट दिने सम्झौता पत्रमा उल्लेख छ । निःशुल्क तथा उपचारमा छुट पाउनेहरुलाई नोबेल र केएमसीले उपलब्ध गराएको छुट कार्डको आधारमा सेवा दिइनेछ । आइतबारबाटै यो सम्झौता लागू भएको छ ।

Kheladi-Upachar-Samman-Photo (1)

कार्यक्रममा बोल्दै केएमसीका कार्यकारी अध्यक्ष डा. शर्माले देशको प्रतिनिधित्व गर्दै खेल्ने खेलाडीहरूको समस्यालाई मध्यनजर गर्दै निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । 

‘खेलाडीहरूले आफ्नो देशको नाम राख्नका लागि कडा मेहनतले खेलिरहेका हुन्छन्, उनीहरूको जीवननै त्यसैमा समर्पित भइरहेको हुन्छ,’ डा. शर्माले भने, ‘देशका निम्ति खेल्ने खेलाडीहरूका आफ्नै पीडा व्यथा छन्, उनीहरूले कुनै रोग लाग्दा उपचार गर्ने पैसा छैन भन्न पनि अप्ठेरो भइरहेको हुन्छ, यस्तो समस्यालाई बुझेर निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हौं ।’

Kheladi-Upachar-Samman-Photo (2)

१८७ खेलाडीलाई सम्मान

कार्यक्रममा प्रदेश १ खेलकुद विकास बोर्डले १८७ जना खेलाडीलाई सम्मान गरेको छ । 

बोर्डले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रदेश १ बाट सहभागी भएर खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै खेलाडीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा ओलम्पिकमा सहभागी ६ जना, एसियालीमा सहभागी ४० जना र दक्षिण एसियाली खेलकुदमा सहभागी १ सय ४१ जना खेलाडी छन् । उनीहरूलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्मानपत्र प्रदान गरी सम्मानित गरेका हुन् ।

Kheladi-Upachar-Samman-Photo (10)

Kheladi-Upachar-Samman-Photo (11)