मकवानपुर / बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ । 

डा. जोशीले प्रतिष्ठानबाट अस्पताललाई अलग गर्ने निर्णय गरेपछि बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उनलाई निलम्बन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

उनीमाथि छानविन गर्न समिति गठन गरिएसँगै जोशी निलम्बित भएको बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भुसालले जानकारी दिए । जोशीलाई केही समय अघिबाटै पदबाट हट्न दबाब आइरहेको थियो ।

उपकुलपति प्रा. डा. जोशीले पदीय जिम्मेवारी पूरा नगरेको लगायतका आधार उल्लेख गरी प्रतिष्ठानको सभाका एकचौथाइ सदस्यले लिखित निवेदन दिएकोले प्रतिष्ठानका कुलपति एवम् मुख्यमन्त्री पाण्डेले सो सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको बताइएको छ ।

प्रा.डा. जोशीलाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ साल साउन १६ गते ४ बर्षे कार्यकालका लागि नियुक्त गरेका थिए । 

पाण्डे नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको व्यक्ति हटाउने श्रृङ्खलाबद्ध योजना रहेको र यो गलत भएको नेकपा एमालेले बताउँदै आएको छ ।

यसअघि प्रदेश खेलकुद विकास परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँलाई पनि पदबाट हटाइएको थियो । यद्यपि चौलागाइँले कानुनी बाटो रोजेपछि अहिले अदालतको आदेश अनुसार उनी पुनः पद बाहल छन् ।