मोरङ / मोरङका दुई छुट्टाछुट्टै स्थानबाट अवैध रुपमा क्लिनिक सञ्चालन गर्दे आएका दुई जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक २७ वर्षीय पर्सनजित बर्मन र २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजत पत्र प्राप्त नगरेका ब्यक्तिहरूले क्लिनिक सञ्चालन गरी चेकजाँच समेत गर्ने गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

बर्मनले पथरी शनिश्चरे नगरपालिका –१ मा श्री राम पाईल्स नामक क्लिनिक र मण्डलले सुन्दरहरैचा नगरपालिका –३ स्थित गछिया चौकमा कल्पना आयुर्वेदिक नामक क्लिनिकका सञ्चालन गर्दै आएका थिए । 

उनीहरूले विगत केही समय देखी आफू चिकित्सक भएको बताउँदै अवैध रुपमा क्लिनिक सञ्चालन गर्दे आएका थिए । यसरी अवैध रुपमा क्लिनिक सञ्चालन गर्दा आम नागरिकहरूको स्वास्थ्यमा खेलवाड हुने समेत बताइएको छ । 

प्रहरीले उनीहरूको साथबाट उपचारमा प्रयोग गरिने सामाग्री पनि बरामद गरेको छ ।