धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नेल बिक्री प्रकरणको छानबिन समितिका संयोजक तथा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. हरिहर वस्तीले पदबाट राजिनामा दिएका छन् । 

बीपी प्रतिष्ठानको छानबिनपश्चात् असन्तुष्टि जनाउँदै आएका डा. वस्तीले काउन्सिलको निर्णयप्रति असन्तुष्ट जनाउँदै पदबाट राजिनामा दिएका हुन् । 

OM Sai Pathibhara Hospital

शुक्रबार काउन्सिलका अध्यक्षमार्फत नेपाल सरकारलाई राजीनामा पत्र बुझाएको डा. वस्तीले जानकारी दिए । 

गत पुष २७ गते सिरहा कल्याणपुर नगरपालिका –११ का ललितकुमार साहको खुट्टाको शल्यक्रियामा कुन रड लगाउने भन्ने विषयमा डा. कलवारको समूहमा विवाद उत्पन्न भएको थियो । 

उक्त घटनाको विषयमा प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशङ्कर साहले काउन्सिललाई निष्पक्ष छानबिन गरी दोषी उपर कारबाही गर्न माग गर्दै पत्र पठाएका थिए । 

उक्त घटनाको छानबिन गर्न मेडिकल काउन्सिलले गठन गरेको समितिमा डा. वस्ती संयोजक थिए । डा. कलवारको विषयमा डा. वस्ती संयोजकत्वको छानबिन समितिले निष्पक्ष छानबिन गरी डा. कलवारले शल्यक्रिया कक्षमा चिकित्सकीय मूल्य, मान्यता र आचरणको न्यूनतम् मापदण्ड पालना नगरेको निष्कर्ष निकाल्दै २ वर्ष कारबाही गर्न सिफारिस गरेको थियो ।

तर, काउन्सिलले निर्वाचित सदस्यहरूको दबावका कारणले निलम्बन नगरी उन्मुक्ति दिँदै २०७८ चैत ७ मा विभागीय प्रमुखको मातहतमा १ महिना काम गर्नुपर्ने निर्णय गरेको थियो । 

उनले निष्पक्ष रूपमा छानबिन गरी प्रमाणसहित गल्तीको पुष्टि हुँदा पनि चिकित्सकलाई उन्मुक्ति दिने काउन्सिलमा बस्नुको औचित्य नभएको बताएका छन् ।