विराटनगर / नोबेल शिक्षण अस्पताल विराटनगरले एक महिलाको शल्यक्रिया गरेर दुर्लभ तथा जटिल ट्युमर सफलतापूर्वक निकालेको छ । झापाको अर्जुनधारा नगरपालिका-११ की ३४ वर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातीसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्युमर’ शल्यक्रिया गरेर सफलतापूर्वक निकालेको हो । यस्तो प्रकृतिको जटिल तथा दुर्लभ ट्युमर नेपालमै पहिलो पटक सफलतापूर्वक निकालिएको शल्यचिकित्सक बताउँछन्‌ । 

अस्पतालका टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश ठाकुर नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक ट्युमर निकालेको हो । नोबेलको हाडजोर्नी विभागका डा.रञ्जिव झा, नाक कान घाँटी विभागका डा.संजिव कुमार ठाकुर, छाती सम्बन्धी शल्यचिकित्सक डा.लोकेश यादव लगायत पनि शल्यक्रियामा सहभागि थिए । ‘झण्डै एक लाख मान्छे मध्ये करिब एक जनामा मात्र यस्तो ट्युमर पाइन्छ, त्यो पनि यत्तिको ठूलो विरलै मात्र भेटिन्छ, नेपालमा हालसम्म यस्तो प्रकृतिको जटिल तथा दुर्लभ ट्युमर सफलतापूर्वक निकालेको रेकर्ड भेटिएको छैन,’ डा.ठाकुर भन्छन्, ‘हामीले नेपालमै पहिलो पटक यस्तो जटिल ट्युमर निकालेका हौं ।’

OM Sai Pathibhara Hospital

घाँटीको माथिल्लो भागदेखि करङसम्म काटेर झण्डै १७ सेन्टिमिटर लामो ट्युमर सफलतापूर्वक निकालिएको हो । चिकित्सकहरूका अनुसार घाँटी हुँदै हातसम्म फैलिने नसाहरूसँगै पलाएकाले सो ट्युमर निकाल्दा नसामा चोट लाग्ने सम्भावना धेरै हुन्थ्यो । जसका कारण हात नचल्ने जोखिम थियो । तर, सफलतापूर्वक ट्युमर निकालिएपछि अहिले मालतीको हात सामान्य अवस्थामा छ ।

करिब एक वर्षअघिदेखि उनको घाँटीको पछाडिपट्टिको भागमा मासुको डल्लो पलाएको थियो । छाम्दा निकै कसिलो भेटिने डल्लो बढ्दै गएर छातीसम्म फैलिएको हो । ट्युमर बढ्दै गएपछि मालतीलाई हात उचाल्न गाह्रो हुने, घोच्ने र चस्किने समस्याले सतायो । पूर्वका बिभिन्न अस्पतालमा जाँदा शल्यक्रिया गर्न नमानेपछि अन्ततः नोबेलमा ल्याएर शल्यक्रिया गराइएको मालतीका श्रीमान राजकुमारले बताए ।