काठमाडौं / कतारमा आयोजना गरिएको आगामी नोभेम्बरमा हुने फुटबल विश्वकप खेलमा ७ नयाँ प्रविधिको प्रयोग गरिने भएको छ । आउनुहोस्  हामी यिनै विषयमा चर्चा गर्दैछौँ । 


१. कुलिङ प्रविधि 

OM Sai Pathibhara Hospital

कतारमा आयोजना हुने विश्वकपको विषयमा सबैभन्दा ठूलो चुनौती भनेकै त्यहाँको मौसम हो । खाडी मुलुक भएकाले कतारको तापक्रम धेरै हुनु स्वभाविक नै हो ।

विश्वकप नोभेम्बर महिनामा सुरु हुनेछ । धेरै तापक्रममा खेल खेल्न नसकिने तर्क आएपछि प्रकृतिको यो चुनौतीलाई कतारले कुलिङ प्रविधि मार्फत सामना गर्दैछ ।

कतारले विश्वकपको लागि प्रयोग हुने सबै स्टेडियमहरूमा कुलिङ प्रविधिको व्यवस्थापन गरिरहेको छ । सन् २०१० देखि नै कतारको सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले कतार विश्वविद्यालयका प्राध्यापक साउद अब्दुल्लाजिज अब्दुल घानीको नेतृत्वमा कुलिङ प्रविधिमा काम गरिरहेको थियो ।

यो प्रविधिमा सौर्य ऊर्जा (सोलार इनर्जी) प्रयोग गरी एयर कन्डिसनिङ मार्फत बाहिरको हावालाई चिसो पारी स्ट्यान्ड वरिपरि भएका ग्रिल र पिचमा भएका ठूला नोजल (हावा पस्ने ठूला मुख भएका उपकरण) हरू मार्फत स्टेडियम भित्र प्रवेश गराइनेछ । साथै एयर सर्कुलेसन प्रयोग गरेर सोही चिसो हावालाई बाहिर जान नदिई स्टेडियम भित्रै बहने प्रविधि प्रयोग गरिदैछ ।

२. रोबोटरेफ्री 

विश्व कप फुटबल प्रतियोगितामा प्रयोग हुने नयाँ ‘रोबोट रेफ्री’ प्रविधि परीक्षणमा छ ।  नयाँ लिम्ब-ट्र्याकिङ प्रविधिले भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) ले भन्दा पनि छिटो खेलाडी अफसाइड भएको कुरा पत्ता लगाउने बताइएको छ ।

यो रोबोटले ३० सेकेन्ड भित्रै अफसाइड भए नभएको पत्ता लगाउन सक्छ । अर्धस्वचालित (सेमी-अटोमेटिक) रुपमा निर्णय दिन सक्ने यो प्रणालीले स्टेडियमको माथिबाट १२ ओटा क्यामेरा प्रयोग गरी खेलाडी र बलको गति तथा चालको निगरानी गर्नेछ ।

यदि कुनै खेलाडी अफसाइड स्थितिमा छ भने ट्र्याकिङ प्रणालीले भीएआर अपरेटरलाई आधा सेकेन्ड भित्रै अलर्ट पठाउँछ ।

३. कार्बन न्युट्रल पहिलो विश्वकप

यो वर्षको विश्वकपलाई ‘कार्बन न्युट्रल’ कार्बन रहित विश्वकप बनाउने कतारको प्रतिबद्धता छ । कतारले फिफासँगको सहकार्यमा कार्बनडाइअक्साइड ग्यासको उत्सर्जन नहुने गरी यो वर्षको विश्वकप आयोजना गर्दैछ ।

जुन अहिलेसम्मकै पहिलो कार्बन न्युट्रल विश्वकप हुनेछ । कार्बन उत्सर्जन कम हुने गरी हरियाली संरक्षणका उपायहरू अपनाइने आयोजकको भनाई छ ।

अन्य काम सँगै यसका लागि विद्युतीय सवारीको व्यवस्था, नवीकरणीय ऊर्जा आदिको व्यवस्था गरिएको छ ।  साथै ऊर्जा उत्पादनका लागि कतारले ८०० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गरेको छ । 

४. इन्टरनेट अफ थिङ्स (आईओटी) को प्रयोग 

विश्वकप हेर्न आएका दर्शकहरूका लागि कतार मोबिलिटी इनोभेसन्स सेन्टरले इन्टरनेट अफ थिङ्स (आईओटी) प्रयोग गरेर कतारको राजधानीमा विभिन्न सेन्सरहरू कनेक्ट गराएको छ ।

यसको सहयोगमा दर्शकहरूले स्टेडियम वरपरका ठाउँहरूको लोकेसन, स्टेडियमको प्रवेश अथवा बाहिर निस्कने गेटको लोकेसन, रियल टाइम ट्राफिकको स्थिति, घुम्ने ठाउँहरू, सवारी पाइने स्थान लगायतका जानकारीहरू सहजै पाउन सक्नेछन् ।  

५. विद्युतीय कपडा  

कतारले यो पटक विश्वकप हेर्न आउने दर्शकहरूको लागि विद्युतीय कपडाहरू पनि उत्पादन गर्दैछ ।

लो(पावर सेन्सर भएका त्यस्ता कपडाहरूले दर्शकको मुटुको धड्कन नाप्ने, श्वासप्रश्वास नाप्ने तथा शरीरमा पानीको मात्रा पर्याप्त छ कि छैन भनेर चेकजाँच गर्न सकिने लगायतका फिचर छन् । यी कपडाहरू ब्लुटुथ मार्फत कनेक्ट गर्न सकिनेछ ।  

६. खानामा प्रविधि 

दर्शकहरूले स्टेडियममा रहँदा मोबाइल एप मार्फत आफू बसेकै सिटमा खानाहरू अर्डर गर्न सक्नेछन् । यो सँगै स्टेडियममा स्मार्टफोन तथा चार्जिङ स्टेसनको पनि व्यवस्था गरिएको छ । 

७.एलईडी लाइट 

विश्वकपको लागि प्रयोग हुने सबै स्टेडियममा रङ्ग परिवर्तन हुने एलईडी लाइटहरू प्रयोग गरिएका छन् । यी लाइटहरूले कम विद्युत खपत गर्नुका साथै अन्य लाइट भन्दा छ गुणा बढी प्रभावकारी हुने बताइएको छ ।