बिर्तामोड / पछिल्लो तीन महिनामा ३५ हजारभन्दा बढी वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी भएको छ । 

कोरोनाका कारण रोकेको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) सरकाले खुल्ला गरेसँगै तीन महिनामै ३५ हजार एनओसी जारी भएको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा केशरमहलले जनाएको छ । 

OM Sai Pathibhara Hospital

शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा केशरमहलका अनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म विभिन्न देशमा विद्यावारिधि तथा एमफिलका लागि ५८ जना स्नातकोत्तर तहको लागि तीन हजार चार सय ४१ जना र स्नातक तह (ब्याचलर) अध्ययनका लागि छ हजार ९४ जनाले अध्ययन अनुमति पत्र लगेका छन् । 

त्यस्तै डिप्लोमा आठ हजार छ सय १० जना, भाषा पढ्न जानेहरू (कुनै देशहरूमा भाषिक कोर्ष पुरा गरेपछि मात्रै शैक्षिक कोर्ष पढ्न पाउने व्यवस्था भएका देशहरूमा जाने) छ हजार छ सय चार जना छन्भने विभिन्न विषयहरू अध्ययन गर्न जानेहरू दश हजार नौ सय ४७ जनाले एनओसी लिएका छन् । 

वैदेशिक अध्ययनका लागि जानेहरू मध्ये सबैभन्दा बढी अष्ट्रेलिया गएका छन्। २३ हजार ७६९ जना अस्ट्रेलिया, जापान ६ हजार ४८९, क्यानडा १ हजार ३८३, युके ६११, भारत १ हजार ३४८, युएसए ३७४ दक्षिण कोरिया ४४०, थाइल्यान्ड ६२ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन्।

वैदेशिक अध्ययनमा जानेहरू बढेसँगै चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा २२ अर्ब रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक अध्ययनको नाममा २४ अर्ब ९६ करोड बाहिरिएको थियो भने अघिल्लो आर्थिक वर्ष २५ अर्ब ८१ करोड नेपालबाट बाहिरिएको थियो।  

अष्ट्रेलिया, जापान जस्ता देशहरूमा जान एक जना व्यक्तिले औसतमा पहिलो किस्ता अर्थात जान अगाडिको  (कलेज वा युनिभर्सिटी फी सहित) करिब १५ लाख नेपाली रुपैयाँ तिर्ने गर्दछन्। ५० हजारले प्रति व्यक्ति १५ लाख तिर्दा झन्डै ७५ अर्ब रुपैयाँ वर्षमा वैदेशिक अध्ययनको नाममा बाहिरिएको तथ्यांकले देखाउँछ। 

त्यसमा पनि केही विद्यार्थीले दोस्रो किस्ता पनि नेपालबाटै तिर्ने गर्दछन्। यो शुल्क समेत जोड्ने हो भने झन्डै १ खर्ब रुपैयाँ वैदेशिक अध्ययनको नाममा विदेश बाहिरिन्छ ।