विराटनगर / कर्तव्य ज्यान मुद्दामा जेल परेका प्रदेश १ की सांसद बिन्दिया कार्कीको छोरा रविन कार्कीले जेलमा रहेकै समयमा गाडीको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिएको पाइएको छ । 

सांसद कार्कीका छोरा २४ वर्षीय रबिनसिंह कार्कीले चलाएको प्रदेश ३–०१–०२२च२१३९ नम्बरको कारको ठक्करबाट भारतीय नागरिक मुकेश शर्माको मृत्यु भए पश्चात कर्तव्य ज्यान मुद्दामा जेल परेका कार्कीले जेलमा रहेकै समयमा लाइसेन्स लिएको पाइएको हो । 

OM Sai Pathibhara Hospital

कार्कीले बयानका क्रममा २०७५ कार्तिक १२ गते यातायात व्यवस्था कार्यालय कोसीबाट आफूले सवारी चालक अनुमति पत्र लिएको बताएका थिए। तर उनले जेलमा रहेको समयमा काठमाडौँको एकान्तकुना लाइसेन्स कार्यालय ललितपुरबाट निकालेको पाइएको छ  । 

कार्कीकी आमा सांसद बिन्दियाले राजनीतिक शक्तिको आडमा छोरो जेलमा रहेको समयमा सवारी चालक अनुमति पत्र निकाल्ने प्रबन्ध गरिदिएको स्रोतले जनाएको छ । 

२०७८ जेठ २० गते बेलुका साढे सात बजे विराटनगरको एयरपोर्ट मोडमा कार्कीले चलाएको गाडीले ठक्कर दिँदा विराटनगरको एक उद्योगमा काम गर्ने मुकेश र मोरङको कटहरीका राजकुमार राजवंशी घाइते भएका थिए । 

घाइते दुबै जनालाई उपचारको लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको थियो । मुकेशको भने उपचारको क्रममा मृत्यु भएको थियो । 

दुर्घटना भएपश्चात कार्की र कारमा सवार कार्कीका साथी पाँचै जना फरार रहेका थिए । दुर्घटना भएको तीन दिनपछि फरार रहेका सांसदपुत्र आफै आत्मसमर्पण गर्दै प्रहरीकामा गएका थिए ।  

प्रहरीले कार्कीले मादक पदार्थ खाएर गाडी चलाएको प्रतिवेदन सरकारी वकिलको कार्यलयमा बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यलय मोरङले मापसे गरेर सवारी दुर्घटना भएको दाबी सहित २०७८ असार १५ गते मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

रक्सी खाएर गाडी चलाएको र दुर्घटना गराएको भनेर गत असोज १३ गते जिल्ला अदालत मोरङले तीन वर्ष कैद र ३५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । 

जिल्ला अदालतले फैसला गरेको तीन महिनापछि गत पुष २० गते उच्च अदालत विराटनगरले जिल्ला अदालतको फैसला उल्टाउँदै छ महिना १५ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । 

उच्च अदालतको फैसला पश्चात उनी पुस २० मा रिहा भएका थिए ।