बिर्तामोड / सर्लाहीमा १० वर्षीय बालकको हत्यामा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मलङ्गवा नगरपालिका-१२ का १० वर्षीय मिठु ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । बालक हराएको चार दिन पछि शव सेप्टिक ट्याङ्कीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो ।
आइतबार बेलुकीदेखि सम्पर्कविहीन भएका बालकलाई अपहरण गरि आफ्नै छिमेकीले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणकुमार पोखरेलले जानकारी दिए । विदेशमा रहेका बालकको मामालाई मेसेन्जरमा नयाँ अकाउन्टबाट म्यासेज गरि १५ लाख रुपैयाँ माग गरिएको थियो ।
म्यासेज कसले र किन गर्यो भनेर नखुलेपछि प्रहरीले साइबर ब्युरोसँगको समन्वय गरि प्रहरीले लोकेसन ट्रेसिङ, मोबाइल ट्रयापिङको मार्फत बुधबार नै आरोपी पत्ता लागेको प्रहरी उपरीक्षक पोखरेलले बताए । यस्तै एक जना भने फरार रहेकाले खोजी कार्य भइरहेको उपरीक्षक पोखरेलले बताए । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको पहिचान खुलाएको छैन ।
हत्या आरोपीहरुले ठाकुरलाई ल्याएकै दिन हत्या गरको र शव गन्हाउन थालेपछि शव सेप्टिक ट्याङ्कीमा फालेको बयान दिएका छन् । मृतकका बुवा कतारमा काम गर्थे उनले घरमा पैसा पठाएको हुनसक्ने भन्दै त्यसैको लोभमा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक पोखरेलले बताएका छन् । मृतकको शवलाई सेप्टिक ट्याङ्कीबाट निकालेर प्रादेशिक अस्पताल मलङ्गवामा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।