धरान / एकीकृत सहरी विकास आयोजना अन्तर्गतको धरानको खानेपानी परियोजनाबारे अध्ययन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । आयोजनाको अवस्थाबारे अध्ययन गर्नलाई सहरी विकास आयोजनाका निर्देशक सुरेन्द्र मोहन श्रेष्ठ संयोजकत्वमा मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको हो । 

समितिको संयोजकमा सहरी विकास आयोजनाका निर्देशक श्रेष्ठ रहेका छन् भने सदस्य सचिवमा खानेपानी मन्त्रालयका उपसचिव रहेका छन् । त्यस्तै , खानेपानी मन्त्रालयका एक प्रतिनिधि, धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल र धरान उपमहानगरपालिकाबाट योजना महाशाखा प्रमुख सुरज श्रेष्ठ समितिको सदस्य रहेका छन् । 

OM Sai Pathibhara Hospital

सहरी विकास मन्त्रालय र खाने पानी मन्त्रालयमाथि धरान उपमहानगरपालिकाका मेयर तिलक राई नेतृत्वको टोलीको दबाबका कारण सो समिति गठन भएको मेयर राईले बताएका छन् । उनले आयोजनाको अवस्था अध्ययन गर्न र त्यसमा आएका समस्याको समाधान गर्नका लागि समितिको गठनका लागि आवश्यक पहल गरेको समेत बताएका छन् ।

एसियाली विकास बैक (एडिबि) बाट ऋण तथा अनुदान लिएको सो आयोजनाको म्याद सकिए पछि पनि निर्माण कार्य भने सम्पन्न हुन सकेको छैन । धरानको प्रमुख समस्या खानेपानी अभावलाई दीर्घकालीनरूपमा समाधान गर्नका लागि ल्याइएको आयोजना समयमा निर्माण हुन नसकेका कारण आयोजना नै असफल भएको भन्दै सर्वसाधारणले आलोचना समेत गर्न थालेका छन् । धरानको खानेपानी आयोजना तोकिएको समयमा निर्माण हुन नसकेका कारण नागरिक स्तरबाट आलोचना बढेकाले राईले आयोजना अगाडि बढाउन पहल गरेका हुन् ।