बिर्तामोड / नेपाल प्रहरीका पूर्व अधिकारी एवं सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले हिन्दु संघका पर्सा अध्यक्ष काशिनाथ तिवारीको हत्यामा एमाले नेता प्रभु साहको हात रहेको दावी गरेका छन् ।
तत्कालीन समयमा माओवादी केन्द्रका नेता रहेका साहको तिवारी हत्यामा संलग्नता खुलेको भएपनि तत्कालीन समयमा उनीमाथि कारवाही गर्न सरकारको असहयोगका कारण नसकिएको बताएका छन् ।
तत्कालीन समयमा वरिष्ठ प्रहरी उपरीक्षक रहेका खरेलले हत्यामा संलग्न साहलाई जोगाउन राजनैतिक दल र शक्ति केन्द्र नै लागेकाले उनी कारवाहीमा नपरेको बताउँदै भने – म तत्कालीन अनुसन्धान अधिकृतको हैसियतबाट बोल्दैछु यदि साँच्चिकै देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हुन् ।
तिवारी हत्यामा नेता साहको संलग्नता दोहोर्याउँदै उनले हत्यारा र भ्रष्टाचारीलाई सजाय दिलाउन तथा देशमा सुशासन कायम गराउन नेपाल सुशासन पार्टी स्थापना भएको दाबी समेत गरे ।
पूर्व गाविस उपाध्यक्ष सत्यनारायण पटेलको सभापतित्वमा भएको सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य सविता झा, केन्द्रीय सदस्य तथा मौलापुर नगरपालिका मेयर प्रत्याशी आर सि यादव, जिल्ला अध्यक्ष रञ्जित कुमार पटेल सहितका वक्ताहरूले मौलापुर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गरी कडा कारवाही गर्न सम्बन्धित निकायसँग जोडदार रुपमा माग गरेका थिए ।
सभामा अन्य पार्टी परित्याग गरी सुशासन पार्टी प्रवेश गर्नेहरूलाई केन्द्रीय अध्यक्ष खरेलले फुलको माला र टिका लगाई पार्टी प्रवेश गराएका छन् ।