बिर्तामोड / गत फाल्गुण एक महिनाको अवधिमा हरेक दिन ४ वटा यौन हिंसाका घटना भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
गत महिना दैनिक ४ भन्दा वढी महिला तथा बालबालिकामाथि यौन हिंसाका घटना भएको महिला पुनर्स्थापना केन्द्र ओरेकले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
ओरेकका अनुसार एक महिनाको अवधिमा भएका यौनहिंसाका १२७ घटना मध्ये २७ वटा बलात्कारका घटना रहेका छन् । एक महिनाको अवधिमा तीन जनाको बलात्कार पछि हत्या भएको छ ।
यौन हिंसाका घटनामा सबैभन्दा बढी ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेर समूहका बालिका तथा किशोरीहरू बलात्कृत भएका छन् । १७ देखि २५ वर्ष उमेर समूहका महिलाको यो संख्या २६ प्रतिशत रहेको छ भने बालबालिकाको संख्या २१ प्रतिशत रहेको ओरेकले जनाएको छ ।