बिर्तामोड / चोरी गरेको अभियोगमा पक्राउ परेका एक युवक प्रहरी हिरासत भित्रै घाँटी रेटिएको अवस्थामा भेटिएका छन् । तामाको तार चोरी गरेको अभियोगमा सोमबार पक्राउ परेका रुद्र बहादुर नेपाली प्रहरीको हिरासतमा नै घाँटी रेटिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

बुटवलको वडा प्रहरी कार्यालयको हिरासतमा रहेका नेपाली घाँटी रेटिएको अवस्थामा भेटिएको र उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको चेकजाँच पछि हिरासतमा रहेका नेपाली घाँटी रेटिएको अवस्थामा भेटिएपछि हिरासतको सुरक्षाका विषयमा गम्भिर प्रश्न समेत उठेको छ ।

घाइतेका आफन्तले प्रहरी कमजोरीका कारण घटना भएको भन्दै छानविन गरी दोषी पाइएका वडा प्रहरी कार्यालयका प्रहरी माथि कारवाही गर्न माग गरेका छन् ।

उता प्रहरीले भने आत्महत्याको कोसिस गर्दा नेपाली घाईते भएको बताएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले घाँटी रेटेर आत्महत्या गर्न कोसिस गर्ने क्रममा घटना भएको बताउँदै सो विषयमा छानविन थालिएको बताएका छन् ।