बिर्तामोड / सुनसरीको इटहरी उपमहानगरपालिकाले छाडा कुकुर नियन्त्रणको अभियान चलाएको छ । उपमहानगरले स्थायी बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाएर छाडा कुकुरको संख्या नियन्त्रणको प्रयास अगाडि बढाएको हो ।

शुक्रबारबाट खोप लगाउने र बन्ध्याकरण गर्ने कार्यक्रम सुरुआत गरिएको छ । छाडा कुकुरले घरपालुवा जन्तुहरूमाथि आक्रमण गर्ने, दुर्घटनाको जोखिम बढाउने भएका कारण उपमहानगरले नियन्त्रण अभियान चलाएको हो ।

OM Sai Pathibhara Hospital

पहिले कुकुर मारेर समस्या समाधान गर्ने चलन भए पनि अहिले पर्यायवरणमा असरपुग्ने भएकाले बन्ध्याकरणलाई उपयुक्त विकल्पको रूपमा अगाडि बढाइएको उपमहानगरपालिकाका पशु चिकित्सक दुर्गा श्रेष्ठले बताए । बन्ध्याकरण पछि कुकुरको सङ्ख्या वृद्धि रोकिने उनको भनाइ छ ।

रेबिज विरुद्धको खोपले थप जोखिम नियन्त्रण हुने पनि उनले सुनाए । उनका अनुसार सुरुमा एकै ठाउँका कुकुर नियन्त्रणमा लिइने र उपचारपछि सम्बन्धित ठाउँमै लगेर छाडिने छ । तीन दिनसम्म चल्ने कार्यक्रममा दुई सय बढी कुकुरको बन्ध्याकरण र खोप लगाइने उनले बताए । 

नियन्त्रणका लिइएका कुकुरलाई अरू रोग भए त्यसको समेत उपचार गरिने भएको छ । बन्ध्याकरण गरेका कुकुरको कानको टुप्पो काटेर छाड्ने गरिएकाले आगामी वर्ष थप उपचारमा सहज हुने उनले बताए ।