काठमाडौं / टेष्ट ट्युब बेबी सेन्टरहरुले सञ्चालन स्वीकृति सोझै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट लिनुपर्ने भएको छ । विभिन्न अस्पतालले नयाँ युनिटका रुपमा सेन्टर खोल्ने क्रम बढ्दा नियमन असहज भएपछि आइभीएफ ( इन भिट्रो फर्टिलाइजेसन) सेवा दिने संस्थाहरूले मन्त्रालयबाटै अनुमतिपत्र लिन अनिवार्य गरिएको हो ।

मन्त्रालयले शनिवार सूचना प्रकाशित गर्दै त्यस्तो सेवा संचालकहरुलाई अनुमति लिनका लागि १५ दिनभित्रै सम्पर्क गर्न भनेको छ । निःसन्तान दम्पतीको संख्या बढ्दै जाँदा शहरी क्षेत्रमा टेष्ट ट्युब बेबी सेन्टरको सेवा लिनेहरू क्रमिकरूपमा बढेको छ । यस्ता संस्थाहरू गैरसरकारी संस्थाले पनि चलाएका छन् ।

OM Sai Pathibhara Hospital

जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी, सरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि सो नियमावलीको अनुसूची-९ बमोजिमका निकायबाट अनुमति लिनुपर्ने प्रावधान छ । सूचनामा भनिएको छ ( टेष्ट ट्युब बेबी ) सेन्टर सञ्चालन गर्न मन्त्रालयबाट इजाजत लिनुपर्छ ।

अन्य निकायबाट अनुमति लिइ वा नलिइ सञ्चालनमा रहेका त्यस्ता सेन्टरहरुले सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा  निवेदन दिनुपर्ने उल्लेख छ ।