काठमाडौं / आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटमा ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल तेस्रो भएको छ । ओमानले दिएको ८८ रनको लक्ष्य १६ ओभर २ बलमा पूरा गर्दै नेपाल तेस्रो भएको हो ।
नेपालको जितका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । भुर्तेलले ५३ बलमा अविजित ५५ रन बनाउँदा आरिफ शेखले २७ बलमा अविजित २१ रन जोडे । आशिफ शेख १८ बलमा १३ रन बनाएर जीशन मक्सूदको बलमा मोहम्मद नदीमबाट क्याचआउट भए ।
त्यसअघि ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रन बनायो । उसका लागि कप्तान जिशन मक्सूदले २१, नशिम खुसीले १४ तथा खलिमुल्लाहले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका कप्तान सन्दीप लामिछानेले तीन तथा कमल ऐरी, आरिफ शेख, अभिनाश बोहरा र सागर ढकालले समान एक–एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच कप्तान सन्दीप लामिछाने भए ।
सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी–ट्वेन्टी विश्वकपमा पुग्न असफल नेपालले ओमानलाई हराएर तेस्रो स्थान हासिल गरेको हो ।
मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान भने सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो ।