काठमाडौं // ८ वर्षपछि पुनः  टी–२० विश्वकपमा पुग्ने निर्णायक खेलबाट नेपाल बाहिरिएको छ।

युएईसँग ६८ रनले पराजित भएपछी नेपाल विश्वकप छनोटको नजिक पुगेर पनि पुनः विश्वकप खेल्नबाट वञ्चित भएको हो।

OM Sai Pathibhara Hospital

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको थिएन ।

युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन  सकेको थियो।ग्लोबल क्वालिफायरमा आफ्नो समूहको सबै खेल जितेर सेमिफाइनलमा पुगे पनि नेपाल निर्णायक खेलबाट बाहिरिएको छ ।

नेपालले पहिलोपल्ट सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

नेपाललाई हराउँदै युएई सन् २०२२ को अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ । मंगलबार नै भएको अर्को सेमिफाइनलमा ओमानलाई ५६ रनले हराउँदै आयरल्याण्ड पनि विश्वकपका लागि छनोट भएको छ । आयरल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान १८.३ ओभरमा १०९ रनमा अलआउट भयो ।

ग्लोबल क्वालिफायरको फाइनलमा युएई र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।समूह चरणको तीनै खेलमा नेपालले विपक्षीलाई सस्तैमा समेटेको थियो । पहिलो खेलमा ओमानलाई ३९ रन, दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रन र तेस्रो खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपालले सेमिफाइनलमा युएईविरुद्ध प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिन सकेन ।

१७६ रनको लक्ष्य पछ्याउँदा पहिलो ओभरमै  युएईका जुनैद सिद्धिकीले ओपनर आसिफ शेख र तेस्रो नम्बरमा आएका लोकेश बमलाई आउट गरेपछि नेपाल इनिङको सुरुवातदेखि नै दबाबमा परेको थियो । समूह चरणमा फिलिपिन्समाथि शतक प्रहार गरेका कुशल भुर्तेलले २.४ ओभरमा आउट हुँदा नेपाल १४–३ को स्थितिमा थियो ।

मध्यक्रमका दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि ३६ रनको साझेदारी गरी पारी उकास्ने प्रयास गरेका थिए । आरिफलाई ११ रनमा रोहन मुस्तफाले भृत्य अरविन्दबाट क्याचआउट गराएपछि आएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दीपेन्द्रले पाँचौं विकेटका लागि ३३ रनको साझेदारी गरे ।

१३ औं ओभरको लगातार दुई बलमा ज्ञानेन्द्र र दीपेन्द्रलाई अहमद राजाले आउट गरेपछि नेपाल ८३–६ को कमजोर स्थितिमा पुग्यो । त्यसपछि युएईले खेलमा पूर्ण पकड जमायो । आउट हुनुअघि ज्ञानेन्द्रले २० र दीपेन्द्रले ३७ रन जोडे ।

अन्तिम क्रममा ब्याटिङमा आएका सन्दीप लामिछाने (४) र विवेक यादव (८ रन) पनि सस्तैमा समेटिए । जितेन्द्र मुखियाले ५ र कमलसिंह ऐरीले ४ रनबाट बनाउन सके । अविनाश १ रनमा अविजित रहे ।

बलिङतर्फ युएईका कप्तान अहमद राजाले ५ विकेट लिए । करिअरको उत्कृष्ट प्रदर्शन गरेका उनले ४ ओभरमा १९ रन खर्चिए । जुनैद सिद्धिकीले ३ तथा रोहन मुस्तफा र जहोर खानले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो । विष्फोटक सुरुवात गरेको युएईले सुरुआती ६ ओभरको समाप्तीमा १ विकेट गुमाएर ५८ रन जोडेको थियो ।

दोस्रो ओभरमै युएईका ओपनर चिराग सुरीलाई जितेन्द्र मुखियाले बोल्ड आउट गरेका थिए । तर दोस्रो विकेटका लागि अर्का ओपनर मोहम्मद वासिम र भृत्य अरविन्दले ६६ रनको साझेदारी गरे ।

आठौं ओभरमा सन्दीप लामिछानेले अरविन्दलाई ४६ रनको व्यक्तिगत स्कोरमा बोल्ट आउट गरे । त्यसपछि आएका मोहम्मद उस्मानसँग मिलेर वासिमले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे ।

१६.१ ओभरमा उस्मान व्यक्तिगत १७ रनमा आउट हुँदा युएई १३६–३ को अवस्थामा थियो । सोही ओभरको अन्तिम बलमा अविनाश बोहराले वासिमलाई पनि ७० रनमा आरिफ शेखबाट क्याच आउट गराए । वासिमले ४८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

१७औं ओभरमा अविनाशले दुई विकेट लिएपछि युएईको ब्याटिङ सुस्त भएको थियो । १८औं ओभरमा जितेन्द्र मुखियाले र १९औं ओभरमा अविनाश बोहराले पुनः विकेट लिए । जितेन्द्र र अविनाशले ३–३ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।