काठमाडौँ / नेपालले आईसीसी पुरुष टी –२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन मात्र बनाउन सक्यो । उसका लागि  नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।

OM Sai Pathibhara Hospital

नेपालका लागि कमलसिंह ऐरीले ३, कप्तान सन्दीप लामिछानदीपेन्द्रसिंह ऐरीले २ र २ तथा जितेन्द्र मुखिया र अभिनाश बोहराले १ र १ विकेट लिए ।

कमल सिंह ऐरीले नेपाललाई पहिलो ओभरमै सफलता दिलाएका थिए ।  कमलले पहिलो ओभरको तेस्रो बलमा कश्यप प्रजापतिलाई दिपेन्द्र सिंह ऐरीबाट शून्य रनमा क्याच आउट गराएका थिए ।

दोस्रो ओभरको पाँचौ बलमा जितेन्द्र मुखियाले अयान खानलाई आशिफ शेखबाट क्याच गराए । जातिन्दर सिंह छैठौं ओभरको दोस्रो बलमा दिपेन्द्र सिंह ऐरीबाट रनआउट भए ।

सन्दीप लामिछानेले सातौँ ओभरको चौथो बलमा खबर अलीलाई बोल्ड गरे । दिपेन्द्र सिंह ऐरीले जिसन मक्सुदलाई आठौं ओभरको पाँचौ बलमा कुशल भुर्तेलबाट क्याच गराए ।

अविनाश बोहराले सोएब खानलाई आशिफ शेखबाट क्याच आउट गराए । सन्दीपले नसिम खुसीलाई १३ औं ओभरको पाँचौ बलमा बोल्ड गरे ।  दिपेन्द्रले आमिर कलिमलाई १४ औं ओभरको तेस्रो बलमा एलबिडब्लु आउट गराए ।

यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो। नेपालका लागि आरिफ शेखले सम्हालिएर ब्याटिङ गरे । उनले ३७ बलमा २ चौकासहित ३७ रनको योगदान दिए ।

यस्तै, कप्तान सन्दीप लामिछानेले ७ बलमा १ छक्का र १ चौकाको मद्दतमा अविजित १६, लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेककुमार यादवले ७, कुशल भुर्तेलले ५, आसिफ शेखले ४, कमलसिंह ऐरीले १ रन बनाए ।

बलिङमा खावर अलीले ३, बिलाल खानले २ तथा फैयाज बट र जीशान मक्सूदले १ र १ विकेट लिए ।