काठमाडौँ / च्याम्पियन लिग फुटबलमा गतराति भएको अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा पिएसजीले मड्रिडलाई १–० ले पराजित गरेको छ  ।

सबैको प्रतीक्षामा रहेको उक्त खेलमा पिएसजीको सामु मड्रिड कमजोर देखिएको थियो । अधिकांश समय बल आफ्नो पक्षमा राख्न सफल भए पनि पिएसजीले खेल जित्नका लागि निकै संघर्ष गर्नु परेको थियो । घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित निकाल्न निर्धारित समयपछि थप गरिएको समयको अन्तिम मिनेटसम्म कुर्नु परेको थियो ।

OM Sai Pathibhara Hospital

पिएसजीलाई जित दिलाउने क्रममा नेइमारले बनाइ दिएको अवसरमा केलियन एमबाप्पेले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यसअघि पिएसजीले धेरै मौका पाए पनि त्यसलाई मड्रिडका किपर कोटुवाले बिफल पारेका थिए ।

पिएसजीले दोस्रो हाफको ६२ औं मिनेटमा पाएको पेनाल्टीबाट अग्रता लिने सुवर्ण अवसर खेरा फालेको थियो । लियोनल मेस्सीले प्रहार गरेको उक्त पेनाल्टीलाई मड्रिडका किपर कोटुवा रोकिदिएका थिए । अबको दोस्रो लेगमा पिएसजीले रियल मड्रिडको मैदान सेन्टियागो बर्नाबाउमा खेल्ने छ ।