झापा / पोखरामा जारी आहा –रारा गोल्डकपको बिसौँ संस्करणमा उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपीएफ क्लबबीच भिडन्त हुँदैछ ।

सेमिफाइनलमा एपीएफले लिग च्याम्पियन मछिन्द्र क्लबलाई र मनाङले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । यस अघि एपीएफ २०६८ सालमा आहा-राराको उपविजेता बनेको थियो। त्यो वर्ष विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

OM Sai Pathibhara Hospital

केही महिना पहिलेदेखि पोखरा रङ्गशालालाई घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेको मनाङले भने आहा–रारा गोल्डकपको सर्वाधिक विजेता हो । उसले २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ सालमा उपाधि चुमेको थियो ।

बीसौं संस्करणसम्म आइपुग्दा मनाङले १२ पटकसम्म फाइनलको यात्रा तय गरेको छ भने एपीएफ १४ वर्षपछि फाइनलमा पुगेको छ। यस पटकको उपाधि जित्नका लागि दुवै टिमका लागिपरेका छन् ।

आयोजक सहारा क्लबले राखेको प्रिम्याच कन्फरेन्समा एपीएफका प्रशिक्षक कुमार थापाले यस पटकको उपाधि आफूहरूले जित्ने दाबी गरेका छन्। मनाङको खेल राम्रो भएका कारण उपाधि रक्षाका लागि एपीएफले पनि सोही अनुसारको सुधार ल्याएको र सोही रणनीतिले नै १४ वर्षपछि फाइनलमा पुगेको उनले बताए ।

मनाङका प्रशिक्षक फुजा तोपेले विगतका संस्करणको तुलनामा एपीएफले यस संस्करणमा निकै सुधार गरेका कारण आफूहरूले पनि सोही अनुसारको तयारी गरेको बताएका छन् । पोखरा रङ्गशाला घरेलु मैदान समेत भएका कारण सातौँ पटक आहा –रारा को ट्रफी उचाल्ने दाउमा रहेको उनको भनाइ छ ।

एपीएफका लागि त्यति सजिलो भने छैन । एपिएफका चार जना खेलाडी अदमा डोम्बिया, सविन थापा, प्रदिप लामा र आभाष लामिछानेले यसअगाडिका खेलहरूमा दुई पटकसम्म पहेँलो कार्ड पाइसकेका छन् । जसका कारण उनीहरूले फाइनलमा खेल्न पाउने छैनन् ।

गोल्डकपको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर एवं विधागत रूपमा पाँच जना उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउने छन् ।

प्रतियोगितामा संकटा क्लब‚ नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, एपीएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए गरी १० टोली सहभागी थिए ।