काठमाडौँ / विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएको काठमाडौं मेडिकल कलेजमा ८ विद्यार्थी सङ्गठनले आइतबार तालाबन्दी गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी नेत्रविक्रम चन्द्र र मोहन वैद्य अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियन (नेकपा) ले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

OM Sai Pathibhara Hospital

काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थी मंसिर १९ गतेदेखि अतिरिक्त शुल्कको विरोधमा आन्दोलनमा छन् । उनीहरूको आन्दोलनमा यी विद्यार्थी संगठन सहित एमाले निकट अनेरास्ववियुले पनि ऐक्यवद्धता जनाउँदै आएको छ ।

विद्यार्थी सङ्गठनले तोकेभन्दा बढी शुल्क नलिन प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराउँदै आएका छन् । यद्यपि कलेज सञ्चालक सुनिल शर्माले अतिरिक्त शुल्क लिने अडान छाडेका छैनन् ।

विराटनगरमा पनि अतिरिक्त शुल्कको विरोधमा दैनिक आन्दोलन हुँदै आएको छ । आन्दोलनलाई थप सशक्त बनाउन नोबेलका केही विद्यार्थी काठमाडौंसमेत आएर धर्ना र प्रर्दशनी गरेका छन् ।

पीडित विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा समेत धर्ना दिएका छन् । कलेज सञ्चालक शर्मालाई गिरफ्तार गिरी ठगी विरुद्ध कारबाही चलाएर कलेजमा पठनपाठनको वातावरण बनाउनुपर्ने विद्यार्थीको माग छ ।

नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिना, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, हरिकृष्ण गजुरेल, प्रकाश शाहीको उपस्थितिमा ताला लगाइएको युनियनका अध्यक्ष मनिष भट्टराईले जानकारी दिए ।