काठमाडौं / ४० लाख डोज खोप हराएको खबर सार्वजनिक भइरहेको बेला सरकारले चिनियाँ भेरोसेल खोप अभाव रहेको स्वीकार गरेको छ ।

स्वास्थ्य सेवा विभागले भेरोसेल खोपको मौज्दात निकै कम रहेको भन्दै पहिलो र बुस्टर डोज खोप नलगाउन भनेको छ ।

OM Sai Pathibhara Hospital

भेरोसेलको पहिलो डोज लगाएकाहरूलाई मात्रै दोस्रो डोज लगाउन विभागले भनेको हो । बुधबार पनि उपत्यकाका अधिकांश खोप केन्द्रहरूमा एक घण्टाभित्रै भेरोसेल खोप सकिएको थियो जसका कारण लाइनमा बसेका सेवाग्राहीहरू आक्रोशित हुँदै फर्किएका थिए ।

बुधबारदेखि नै भेरोसेलको मात्र एउटा खोप केन्द्रलाई दुई सय डोज भन्दा कम पठाउन थालिएको पनि विभागले जनाएको छ ।

सरकारले माघ २ गतेदेखि फ्रन्टलाइनरमा काम गर्नेलाई बुस्टर खोप लगाउने निर्णय गरे पनि खोप अभावका कारण भेरोसेल खोप लगाएका अधिकांश फ्रन्टलाइनरहरु पनि बुस्टर डोजबाट बञ्चित भएका छन् ।

विभागले कोभिसिल्ड र जोनसन एण्ड जोनसन खोपको मात्रा बढी रहेको भन्दै सोही खोप लगाउन जोड दिएको छ । पहिलो मात्रा लगाउन चाहनेहरूलाई पनि सोही खोप दिन भनिएको छ ।