काठमाडौं / सरकारले अवैध रुपमा कोरोनाविरुद्धको खोप बेच्ने र किनेर लगाउने दुवै जनालाई कारबाही गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गरेर अवैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई कानून बमोजिक कडा कारबाही गर्ने जनाएको हो ।

विभिन्न क्लिनिकहरुमा अवैध रुपमा कोरोना भाइरसविरुद्धको खोप बेच्ने तथा लगाउने गरिएको समाचारहरु बाहिरिन थालेपछि मन्त्रालयले यस्तो सूचना जारी गरेको हो । सरकारले कोभिड–१९ विरुद्धको खोप तथा बूस्टर डोज विभिन्न स्थानमा निःशूल्क लगाइरहेको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयमार्फत् जारी सूचनामा भनिएको छ, ‘अबैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ । कोरोनाविरुद्धकाृ खोप बेचबिखन भएको थाहा पाउने जो–कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा यथार्थ जानकारी गराउनुहुन अनुरोध छ ।’

यसका साथै बजारमा लुकीछिपी बेच्न राखिएका खोपहरु नक्कली हुनसक्ने पनि मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । त्यस्तै कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ ।