विराटनगर / नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा पीडित विद्यार्थीले आन्दोलन जारी राखेका छन् ।

उनीहरूले आइतबार कलेजको प्रवेश द्वारमा अनशन बसेर नाराबाजी गरेका थिए । विद्यार्थीको विरोधले अस्पतालको सेवा प्रभावित भएको थियो । आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले कलेजमा सुरक्षा व्यवस्था कडा पारेको थियो ।

OM Sai Pathibhara Hospital

कलेज सञ्चालक सुनील शर्माका दाइ खगेन्द्रप्रसाद न्यौपाने, कलेज प्रबन्धक नारायण दाहाल र कलेजका अन्तर्राष्ट्रिय निर्देशक तथा होस्टल सञ्चालक निरञ्जन यादवले चार जना अभिभावकलाई विद्यार्थीको भविष्य बिग्रिने भन्दै शनिबार राति पाँचबुँदे सम्झौता गराएका थिए । सम्झौतामा कलेजले लिने अतिरिक्त शुल्क विद्यार्थीले तिर्नुपर्ने, पढाइ अवधिभरि कुनै किसिमको राजनीतिक गतिविधि गरेर निष्कासन गरे कलेजले लिएको शुल्क फिर्ता नगर्ने सर्त उल्लेख छ ।

यस्तै विद्यार्थीको कुनै कारणले मृत्यु भएको अवस्थामा कलेजमा बुझाएको शुल्क फिर्ता नहुने र पढाइ छोडेर जानेले पढाइ अवधिको शुल्क बुझाउनुपर्ने सम्झौतामा भनिएको छ । विद्यार्थीले गर्दै आएको आन्दोलनका कारण कलेजले असुल्दै आएको छात्रावासको मासिक १२ हजार शुल्क मध्ये २ हजार छुट दिने उल्लेख छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्ने अभिभावकमा वीरेन्द्रकुमार यादव, राजेन्द्रबहादुर थापा, प्रकाश फुयाल र रामकुमार भट्टराई छन् । कलेज प्रशासनले उनीहरूलाई आन्दोलनरत अन्य विद्यार्थी र अभिभावकका साथै आन्दोलनमा सहयोग गरेका विद्यार्थी सङ्गठनहरूसँग समेत कुनै समन्वय गर्न नदिई दबाब र प्रभावमा पारेर सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएको पीडित विद्यार्थीले गुनासो पोखे ।


चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । कलेज सञ्चालक शर्माले भने अतिरिक्त २० लाख शुल्क बुझाउने सम्झौतापत्रमा हस्ताक्षर गराएपछि मात्रै पढाइ थाल्ने अडान लिएपछि विद्यार्थी आन्दोलित छन् ।