विराटनगर  / नोबेल मेडिकल शिक्षण अस्पताल र आन्दोलनरत विद्यार्थीका अभिभावकबीच भएको सहमतिको विभिन्न ६ विद्यार्थी सङ्गठनले विरोध गरेका छन् । 

आर्थिक प्रलोभनमा परेर चार जना बिकाउ अभिभावकले पीडित विद्यार्थी, संयुक्त विद्यार्थी संगठन र चिकित्सा शिक्षा संघर्ष समितिको उपस्थिति बिनानै सहमति गरेको भन्दै ६ विद्यार्थी सङ्गठनले विरोध गरेका हुन् । 

OM Sai Pathibhara Hospital

संयुक्त विद्यार्थी संगठनको आन्दोलन चलिरहेकै बेला गत माघ १ गते नोबेल मेडिकल कलेज प्रशासन र केही अभिभावकबीच पाँच बुँदे सहमति भएको थियो । 

विद्यार्थी सङ्गठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आर्थिक प्रलोभनमा परेर चार जना अभिभावकले सहमति गरेको भन्दै सो सहमति आफूहरूलाई मान्य नभएको बताएका छन् । 

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्रबहादुर घिमिरे, चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक मनिष भट्टराई, नेपाल विद्यार्थी संघ मोरङका जसवन्त पौडेल, अनेरास्ववियु मोरङका जोसेफ घिमिरे, अनेरास्ववियु मोरङका सचिव निर्मल भण्डारी र समाजवादी विद्यार्थी युनियन प्रदेश १ का उपाध्यक्ष तरुणविक्रम खवास रहेका छन् ।

राज्यले बनाएको ऐन कानुनको पालना गर्ने गराउने कार्य सरकारको भए पनि गत पुस ३० गते शिक्षा मन्त्रालयमा मेडिकल कलेज संचालकसँग भएको वार्ताबाट पनि चिकित्सा शिक्षा आयोगले निर्धारण निर्देशन गरेको ऐन विपरीत निर्णय भएको विद्यार्थीको दाबी छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क र निर्देशन अक्षरशः पालना हुनुपर्छ भन्नेमा आफूहरू एकमत रहेको पनि विद्यार्थी सङ्गठनहरूले जनाएका छन् ।