विराटनगर / सरकारी निर्देशनको अवज्ञा गरी सरकारले तोकेको भन्दा वढी शुक्ल असुलीरहेको नोबेल मेडिकल कलेज विरुद्ध जारी आन्दोलनका क्रममा आइतबार कलेज परिसरमा विद्यार्थी र सुरक्षा कार्डबीच झडप भएको छ ।

कांग्रेस नेता समेत रहेका विवादास्पद छविका कलेज सञ्चालक सुनिल शर्माले सरकारी आदेशविरुद्ध नियमविपरीत शुल्क असुल जारी राखेपछि कलेजका विद्यार्थीले सुरु गरेको आन्दोलनका क्रममा प्रहरी हस्तक्षेप हुँदा झडप भएको हो ।

झडपका परी सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका केन्द्रीय सचिव किसन भगतसहित केही विद्यार्थी घाइते भएका छन् । घाईते भगतको टाउकोमा गम्भिर चोट लागेको छ ।

कलेजको शुल्क असुली विरुद्ध विगत दुई साता यता विध्यार्थी आन्दोलनरत छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय , प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालय सहितका सरकारी निकायमा उजुरी दिँदा समेत कलेजले शुल्क असुली नरोकेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनका क्रममा अनशन बस्न पुगेका विद्यार्थीलाई कलेज सञ्चालक सुनिल शर्मा निकटका औषधी व्यवसायीले अवरोधको कोसिस गरेका थिए । नोवेल क्षेत्रमा रहेका औषधी व्यवसायीले गरिखान देउ भन्दै आन्दोलन बिथोल्न खोजेका थिए । विद्यार्थीको समूह ठूलो देखेपछि उनीहरु पछि हटेका थिए ।  

कलेज क्षेत्रमा प्रवेश गरेपछि शर्माको दबाबमा फेरि कर्मचारीले रोजगारी गर्न देउ भन्दै प्रदर्शन थालेर विद्यार्थीको आन्दोलन दबाउन कोसिस गरेका थिए ।  

मुडभेडमा उत्रिएका कर्मचारी र विद्यार्थी बिच वार्ता पछि स्थिति सामान्य बनेपछि विद्यार्थीले अनशन सुरु गर्न खोज्दा अस्पतालका सुरक्षा गार्डले हस्तक्षेप गरेपछि झडप भएको हो । कलेजका सुरक्षा गार्डले कुटपिट गर्न थालेपछि विद्यार्थी प्रतिकारमा उत्रिएका थिए ।

झडपका कारण कलेज परिसर क्षेत्र तनावपूर्ण बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । बेलुका अबेरसम्म कलेज परिसरमा विद्यार्थीले नाराबाजी गरेका छन् ।

वर्षौँदेखि विद्यार्थीबाट आफूखुसी शुल्क असुल्दै आएका कलेज सञ्चालक शर्मा राजनीतिक दलको आडमा लुट मच्चाउँदै आएका छन् । उनी विरुद्ध दम्पती शुद्धिकरण विभाग , राजश्व विभाग र सीआईबी लगायतका निकायमा दर्जनौँ उजुरी परेको भएपनि कारवाही हुन सकेको छैन ।

सरोकारवाला सरकारी निकायले कारवाही नगर्दा यसपटक पनि शर्माको स्वामित्व रहेका दुई मेडिकल कलेजमा उनले लुटलाई निरन्तरता दिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।