झापा / विराटनगरमा रहेको सञ्जीवनी हस्पिटल एण्ड आइ भि एफ सेन्टर प्रालिमा चिकित्सकहरूको पारिश्रमिक नदिए पछि एक साता हस्पिटल बन्द गरिएको छ ।
सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई काम नगर्न चिकित्सक संघले आग्रह गरेको छ ।

हस्पिटलमा कार्यरत पाँच जना डाक्टरले तीन वर्षदेखि तलब पाएका छैनन् भने ९ जना चिकित्सक र स्वास्थ्यकर्मीहरूले गत भदौदेखि तलब नपाएको गुनासो गरेका छन् ।
एक जना चिकित्सकले १० लाखदेखि ७० लाख रुपैयाँसम्म सञ्जीवनी हस्पिटलबाट पारिश्रमिक पाउनुपर्ने छ । हस्पिटलले चिकित्सकको मात्र २ करोड रुपैयाँ तलब दिन बाँकी रहेको चिकित्सकहरूको भनाइ छ ।
चार जना चिकित्सकसहित १२ जनाको लगानी रहेको सञ्जीवनीमा चरम आर्थिक सङ्कटमा परेपछि हस्पिटल बन्द भएको हो । अस्पतालमा कार्यरत पाँच जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अफिसरसहित दुई दर्जन बढी कर्मचारीले पाउनुपर्ने तलब भुक्तानी नगरेरै सञ्चालकहरूले हस्पिटल बन्द गरेका हुन् ।
लामो समयदेखि काम गर्दै आएका चिकित्सक र स्वास्थ्यकर्मीले पाउनुपर्ने सम्पूर्ण तलब नदिएसम्म कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई काम गर्न संघले सूचना जारी गरेको हो ।
संघका अध्यक्ष डा. फरवार्ड सिलवाल र महासचिव डा. राजेन्द्र चौधरीले बुधबार उक्त सूचना जारी गरेका हुन् । ‘हस्पिटलले लामो समयसम्म चिकित्सकलाई काम गरेको तलब नदिँदा समस्यामा परेका छन् ।
तसर्थ हालसम्म कार्यरत चिकित्सकको भुक्तानी उक्त अस्पतालले नगर्दासम्म सो अस्पतालमा काम कारवाही नगर्न सम्पूर्ण चिकित्सकहरूमा अनुरोध गरिएको छ ।