झापा / प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलिरहँदा भारतीय राज्य उत्तरखण्डका गभर्नर गुर्मित सिंहले भारतद्वारा अतिक्रमित नेपाली भूमि नाबीगुन्जीको  भ्रमण गरेका छन्। 

देउवा पुस २५ गते भारतको चार दिने भ्रमणमा जाने तयारीमा छन् । शनिबार साँझ सिंहले नाबी र गुन्जी लगायत सीमा क्षेत्रको भ्रमण गरेको तस्वीर ट्विटर मार्फत सार्वजनिक गरेका हुन् ।

OM Sai Pathibhara Hospital

सिंहले भारतीय सीमा सडक सङ्गठनले सीमा क्षेत्रमा गरिरहेको पूर्वाधार विकासको र भारतीय सुरक्षाकर्मीले सीमा सुरक्षामा खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन्। उनी गत सेप्टेम्बर १५ मा मात्रै उत्तराखण्डको गभर्नर नियुक्त भएका थिए । 

सिंहले ट्विटरमा लेखेका छन्, – ‘गुन्जी र नाबीमा श्रम गरिरहेका सुरक्षाकर्मी तथा यहाँका स्थानीयवासीलाई भेट्न पाउँदा उत्साहित भएको छु ।’  ।

नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा हस्ताक्षरित सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवम् प्रमाणका अनुसार नेपाल–भारत पश्चिमी सीमा सम्बन्धमा महाकाली नदीभन्दा पश्चिमको भूभाग भारतको र महाकाली नदी र सोको पूर्वतर्फको भुभाग नेपालका हुन् । 

सन्धिका अनुसार महाकाली नदीको उद्गमस्थल कुटी गाउँ नजिकैको कालापानी (कालोपानीको तलाउ) त्यस उत्तरको डाबै मैदान माथिको जोलिडकाङ हिम शृङ्खलामा पर्ने लिम्पियाधुरासम्मको भाग नेपालको पर्छ। 

कालापानी—लिपुलेक क्षेत्रमा पर्ने कुटी, नाबी र गुन्जी लगायतका नेपालका गाउँहरू सन् १९६१/६२ भन्दा केही समय पहिलेदेखि भारतको कब्जामा छन्। 

भारतले कुटी, नाबी र गुन्जी क्षेत्रनजिक धमाधम सडक निर्माण गरिरहेको छ । तर, नेपालले भारतसँग अतिक्रमित भूमि फिर्ता गर्नेबारे कूटनीतिक पहलकदमी लिन सकेको छैन् । 

नेपालले १९ महिना अघि कालापानी, लिपुलेक, नाबी, गुन्जी लगायत क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा जारी गरे पनि भारतले डिसेम्बर २०१९ मा नै आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेर कालापानी क्षेत्र आफ्नो भएको दाबी गरेको थियो ।