दमौल। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई  मतदान केन्द्र थप गर्ने निर्णय सहित निर्वाचन आयोगमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको आइतबार बसेको बैठकले जिल्लामा दुई  मतदान केन्द्र थप गर्ने निर्णयसहितको सिफारिस निर्वाचन आयोगमा पठाएको हो । 

ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । उक्त ठाउँमा मतदान केन्द्र थप गर्न ऋषिङ गाउँपालिकाले जिल्लामा सिफारिस गरेको थियो । 

उहाँले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक÷एक मतदान केन्द्र रहेकामा थप एक÷एक मतदान केन्द्र थप्न आवश्यक रहेकाले सोही बमोजिम आयोगमा पठाइएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले उक्त ठाउँको केही दिन अगाडी निरीक्षण समेत गरेको थियो । 

तनहुँका दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान केन्द्र रहेका छन् । २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता रहेका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख १९ हजार ८९ जना र महिलाको सङ्ख्या एक लाख २७ हजार नौ सय १५ जना रहेको छ । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले मतदाता नामावली दर्ताका लागि कार्यालयमा दैनिकजसो भीड रहेको जानकारी दिए । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यालयले आवश्यक तयारी सुरु गरिसकेको उनको भनाइ छ ।