बिर्तामोड / अहिले सामाजिक सञ्जाल होस् या त आम मानिसको भेटघाट जताततै शब्द र धुनका राजा भनेर चिनिएका साइग्रेस पोखरेलको चर्चा भइरहेको छ ।
फेसबुक, युट्युब, टिकटक इन्सटाग्राम, ट्विटर जस्ता सामाजिक सञ्जालमा स्टोरी टेलर अर्थात कथा वाचकको रुपमा आफूलाई चिनाउन र दर्शक श्रोता माझमा छुट्टै पहिचान अनि स्थान बनाउन सफल साइग्रेस पोखरेल २०४४ साल कार्तिक २१ गते धादिङमा जन्म भएको थियो ।
बुबा रामप्रसाद पोखरेल र आमा कविता पोखरेलको कोखबाट जन्म लिएका साइग्रेसको बाल्य र युवा अवस्था भने नजिकै रहेको राजधानी काठमाण्डौमा बितेको थियो ।
अध्यात्ममा रुचि राख्ने र साइबाबालाई मान्ने उनको नामको अर्थमा समेत साईबाबा प्रतिको आस्था लुकेको छ । साइग्रेस अर्थात भगवान साइको प्रसाद भन्ने बुझिने भएकाले उनको नाम पनि साइग्रेस राखिएको बताउने गरेका छन् ।
साइग्रेस प्राथमिक तहमा हुँदा नै आफ्नो विद्यालयमा भएको कमेडी च्याम्पियनसिपमा भाग लिएर सबैको प्रिय बनेका थिए । विद्यालय तहमा भएका हरेक प्रतिष्पर्धामा उनी सहभागि हुने गरेका थिए ।
माध्यमिक तहमा विद्यालयमा आयोजित नाटक प्रतियोगितामा भाग लिएर त्यहाँ पनि प्रथम भएका थिए ।
बाल्यकालबाटै उनको रुचि सङ्गीतमा बढ्दै गयो र बिभिन्न साङ्गीतिक कार्यक्रममा भाग लिने अनि संगित सिक्न सम्म उनले थालेका थिए ।
स्नातक तहमा अध्ययनकै क्रममा साइग्रेसले नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य अनुसन्धान कार्यालयमा आवद्ध भएर सरकारी सेवा आरम्भ गरेका थिए । ७ वर्ष सरकारी सेवामा बिताएपछि उनी सन् २०१५ मा उच्च शिक्षाका लागी युरोपियन मुलुक डेनमार्क पुगेका थिए ।
नेपालमा हुँदा नै फिल्म मेकीङ्को ट्रेनिङ लिएका उनले आफ्ना अनुभवहरूका आधारमा नै डेनमार्कमा साइग्रेस प्रोडक्सन नामक आफ्नै फिल्म मेकीङ्ग कम्पनी स्थापना गरेर आफ्नो खर्च आफै जुटाउन थालेका थिए । जुन कम्पनीबाट उनले राम्रो कमाई अनि सफलता हात पारेका छन् ।
सन् २०१७मा उनले साथिहरुसंग मिलेर नेपालोना इभेन्ट नामक नयाँ इभेन्ट हाउस समेत सञ्चालनमा ल्याए, जसले नपाली चलचित्रलाई युरोपमा बजार बनाउन सहयोग गर्यो भने , साईग्रेसले पनि राम्रै पैसा कमाए ।
साइग्रेस प्रोडक्सन सञ्चालन गरेसँगै उनले बार्सिलोनाको एउटा इन्टरनेसनल कलेजमा मिडिया म्यानेजरको रुपमा काम समेत गरे । युरोपमा रहँदा पनि उनी विभिन्न सामाजिक काममा संलग्न रहने गरेका छन् ।
हेर्दा नै आकर्षक व्यक्तित्वका धनी साईग्रेस यतिवेला संसारभर रहेका नेपालीका प्रिय बनिसकेका छन् । उनले प्रस्तुत गर्ने कथा , उनका शब्द र उनका कथामा प्रयोग भएका धुनसँग बालबालीका देखि युवा हुँदै बृद्धबृद्धा सम्मको प्रेम बसिसकेको छ । साहित्य विधामा यतिधेरै रुचि अनि खोजीको पात्र बनेका साइग्रेस पहिलो नेपाली समेत हुन् ।
साईग्रेसको साहित्य यात्रा
सानै उमेर अर्थात बाल्यकालबाटै कथा र सङ्गीतमा रुचि राख्ने साइग्रेस अहिले देशभर यति प्रसीद्ध छन्, कि उनका सब्द , आवाज र धुन आम मानिसको रुचिको विषय भएको छ ।
उनले आफ्नै युट्युव च्यानलबाट कथा वाचन र बिभिन्न मोटिभेस्नल भिडियो अपलोड गर्ने गरेका छन् । उनी कहिलेकाहिँ आफ्नै कथा सुनाउँछन् त कहिले अरुको कथामा आवाज दिने गर्दछन् । उनले बाचन गर्दा कथाले नयाँ जिवन समेत पाउँछ ।
साइग्रेस आम श्रोताको लागि यति प्रिय बनिसकेका छन् की उनलाई याद गर्न उनको सब्द र आवाज मात्र हैन धुन मात्रै पनि काफी छ । आफ्नो हरेक कथामा सब्दमा प्रयोग हुने धुनमा पनि आम नेपालीको मोह बसिसकेको छ । अहिले धुनमात्रै सुन्दापनि आम श्रोता तरङ्गीत हुने गर्दछन् र ध्यान दिएर सुन्ने गर्दछन् ।
किताब पढ्न कथा सुन्न रुचाउने साइग्रेसले आफू पछि गएर कथा बाचक बन्छु भनेर भने कहिल्यै नसोचेको बताएका छन् ।
विद्यालयमा भएका कृयाकलाप प्रतिस्पर्धामा भाग लिँदै गर्दा , विजयी भइरहँदा र आफ्ना हरेक प्रस्तुतिमा बज्ने ताली र तारीफले उनलाई लोभ्याउनका साथै उनिमाथि हौसला समेत बढ्दै गएको उनी बताउँछन् । लेखाइमा शक्ति हुन्छ र आवाजमा क्षमता हुन्छ भन्ने अनुभव गरेर विस्तारै उनले आफ्नो डायरीमा कथा, कविता र गीतहरु कोर्न सुरु गरेका थिए ।
आफ्ना लेखहरुलाइ डायरीमा नै सीमीत राखेका साइग्रेसले सन् २०१२ मा पहिलोपटक धेरै मानिसहरुको अगाडी उभिएर कथावाचन गरेका थिए । साइबाबा संगठन नेपालले गरेको उक्त राष्ट्रिय युवा सम्मेलनबाट आएको प्रतिकृयाबाट उनले आफ्नो आवाजमा भएको सक्तिलाई चिन्न सकेका थिए , साथै कथा बाचनलाई निरन्तरता दिने अठोट समेत लिएका थिए ।
त्यहि कार्यक्रममा उनको भेट सरीता अथिकारी अर्थात श्रीता संग भएको थियो । श्रीताले उनको कथा वाचन मनपराएर साइग्रेसलाइ एउटा नोट समेत छोडेकी थिइन् ।
श्रीता अहिले साइग्रेसकी श्रीमति हुन् । त्यहि कार्यक्रमबाट पहिलो भेट भएर बिस्तारै प्रेम सम्बन्धमा रहेको साइग्रेस र सरीताको प्रेमकथा उनकै युट्युव च्यानलमा सुन्न सकिन्छ । श्रीतापनि युट्युबमा कथावाचन गर्छिन् ।
साइग्रेसले सामाजिक विषयवस्तुमा रहेर कथाहरु लेख्न मनपराउने बताउँदै आएका छन् । उनले लेखेका अधुरो प्रेम, मा र मजाक, जात नमिलेको प्रेम जस्ता कथा र अडियो उपन्यासमा पनि मानवीय मान्यतालाई समावेश गर्ने प्रयास गरेका छन् ।
हरेक कथालाई सुक्ष्म अवलोकन गर्ने साइग्रेस कथा सुन्न भन्दा बढि कथालाई महसुस गर्नमा विश्वास राख्छन् ।
आफ्नो कथा सुनाउने साथै अरुको कथालाई पुनरलेखन गरेर वाचन गर्ने साइग्रेसले थुप्रै मोटिभेसनल भिडियो समेत आफ्नै युट्युव च्यानलमा राखेका छन् ।
यहि नोबेम्भर ९ देखि २६ सम्म भएको बर्ड टुर अर्थात शब्द यात्रामा नेपाली दर्शक स्रोता बाट पाएको माया र प्रतिक्रियाबाट आफूलाई अझै राम्रो काम गर्ने साहस जुटेको उनी बताउँछन् ।