काठमाडौँ  / कोभिड –१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भारतको राजधानी नयाँ दिल्लीमा सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाइएको छ । 

दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले सूचना जारी गरी स्कुल, कलेज, सिनेमा घर, जिम, स्पा बन्द गरिएको जनाएको छ ।

OM Sai Pathibhara Hospital

रात्रिकालीन कर्फ्युको समय पनि एक घण्टा बढाइएको छ । अब राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका काममा हिँडडुलमा रोक लगाइएको छ । 

लगातार तेस्रो दिन संक्रमण दर शून्य दशमलव ५ प्रतिशत भन्दा बढी रहेपछि दिल्ली सरकारले ‘यलो अलर्ट’अन्तर्गत प्रतिबन्धहरू लगाएको जनाएको छ । 

नयाँ निर्देशिकाअनुसार मेट्रो, बस, रेस्टुराँ ५० प्रतिशत सिट क्षमतामा मात्रै चलाउन पाइने छ । एक महिना अगाडि मात्रै मेट्रोलाई शतप्रतिशत क्षमतामा सञ्चालनमा ल्याएको थियो ।

मल्टिप्लेक्स, बैंक्वेट तथा स्पोर्ट कम्प्लेक्स बन्द रहनेछन् । अत्यावश्यकबाहेकका पसलहरू जोरबिजोर दिनका आधारमा सञ्चालन गरिने छ । पसलहरूलाई बिहान १० देखि बेलुका ८ बजेसम्म मात्रै खोल्ने अनुमति दिइएको छ । विवाह र अन्त्येष्टिमा २० जना मात्र सहभागी हुन पाउने छन् ।

त्यसबाहेक सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक र चाड पर्वको आयोजनाका नाममा गरिने जमघटमा प्रतिबन्ध लगाइएको छ । निजी क्षेत्रका कार्यालयमा ५० प्रतिशत कर्मचारी राखेर मात्रै काम गराउन निर्देशन दिइएको छ ।