विराटनगर / विराटनगरमा रहेको एकीकृत भन्सार जाँचचौकी आईसीपीमा थप पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ ।

नेपाल इन्टरमोडेल यातायात विकास समितिले आईसीपीमा सञ्चालित भन्सारको कामलाई सहज बनाउन जाँचचौकी परिसरमा १५ करोड रुपियाँ लागतमा नयाँ संरचना निर्माण थालेको हो ।

OM Sai Pathibhara Hospital

भन्सारमा जाँचपास घर, पार्किङ स्थल, गोदाम घर सहितका संरचना निर्माणको काम थालिएको समितिका इन्जिनियर शुभकान्त राउतले जानकारी दिएका छन ।मालवाहक सवारी पार्किङ अभाव हुँदा आईसीपी परिसरको सडकमै पार्किङ गर्नुपर्ने स्थिति छ ।

इन्जिनियर राउतका अनुसार आवश्यकताका आधारमा आठ हजार वर्गमिटरको ब्लक पार्किङ स्थल, ११ हजार वर्गमिटरको अस्थायी पार्किङ स्थल, जाँचपास घर र गोदामघर निर्माणको काम भइरहेको छ । गोदामका लागि १२ करोड र जाँचपास र अस्थायी पार्किङ स्थलका लागि तीन करोड रुपियाँ लागत रहेको छ ।

२०७६ साल माघ २ गते यो आईसीपीको उद्घाटन भएको थियो । आवश्यक संरचना अभाव हुँदा समस्या पर्दै आएको भन्सार प्रमुख ताराप्रसाद सापकोटाले बताए । उनले आईसीपी क्षेत्रमा पाँच प्रकारका जाँचपास घर आवश्यक हुने बताए । त्यसमध्ये भारतमा हुने निकासी – पैठारी स्थानीय, तेस्रो मुलुकबाट हुने पैठारी – निकासी, कार्गो रेलबाट आयात हुने सामान जाँचपास र जफत गरिएका सामानको जाँचपास गर्ने घरको जरुरी रहेको उनले बताएका छन । अहिले आईसीपी क्षेत्रमा दुईवटा मात्रै जाँचपास घर रहेका छन् ।


भन्सार विभागले देशभरका १२ वटा भन्सार कार्यालय विस्तार र स्तरोन्नतिको पाँच वर्षे कार्ययोजना बनाउन स्थानीय भन्सार प्रमुखको नेतृत्वमा कार्यदलसमेत गठन गरेको प्रमुख भन्सार अधिकृत सापकोटाले जानकारी दिए । त्यसमा विराटनगर भन्सार कार्यालय समेत छ । थप आवश्यक संरचना निर्माणको पाँच वर्षे कार्ययोजना बनाएर अगाडि बढाउने लक्ष्य राखिएको उनले बताए ।

उनले आईसीपी क्षेत्रमा ल्याब नहुँदा सबैभन्दा धेरै समस्या भइरहेको बताउँदै आगामी वर्ष ल्याब स्थापनालाई प्राथमिकतामा राखिने जानकारी दिए । त्यसैगरी भन्सार क्षेत्रमै पेट्रोल पम्प राख्ने योजनासमेत रहेको सापकोटाले बताए । उनले प्रशस्त जग्गा भए पनि संरचना अभावमा न्यून उपयोग भएको बताए ।

इन्टरमोडलले १२९ बिघा क्षेत्रफलमा रहेको आईसीपी सञ्चालनका लागि ट्रान्स नेपालसँग सम्झौता गरेको छ । पाँच वर्षे सम्झौताअनुसार ट्रान्स नेपालले ३५ करोड रुपियाँमा ठेक्का लिएको निर्देशक लक्ष्मी सुब्बाले जानकारी दिए ।ट्रान्स नेपालले समेत आईसीपी क्षेत्रमा संरचना अभाव हुँदा व्यापार सहजिकरणमा समस्या भइरहेको गुनासो गर्दै  आएको छ ।

१० वर्षअघिको आवश्यकतालाई हेरेर निर्माण गरिएको आईसीपी क्षेत्र अहिलेको आवश्यकताअनुसार साँघुरो भएको छ । निर्यात र आयातका लागि छुट्याइएको पार्किङ तथा प्रोसेसिङ यार्डमा तालमेल नदेखिँदा मालसमान बोकेर नेपाल आएका मालवाहक सवारीसाधनको जामले हैरानी पारेको निर्देशक सुब्बाले गुनासो गरे ।
आईसीपी क्षेत्रमा आयात र निर्यातका सामान बोकेका १२० मालवाहक मात्रै अट्न सक्ने पार्किङ स्थल रहेको छ । दैनिक २५० वटासम्म मालवाहक सवारी आईसीपी क्षेत्र प्रवेश गरेर भन्सार जाँचपास गराउँदै आएका छन् ।