दमक / झापाको दमक नगरपालिकास्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ ।

अक्सिजन उत्पादनको परीक्षण सफल भएपछि निर्माण कम्पनीले अस्पताललाई शुक्रबार अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो । 

OM Sai Pathibhara Hospital

अक्सिजन प्लान्ट निर्माणको काम डेढ वर्ष अघिदेखि सुरु भएको थियो । विश्व बैंकको कार्यक्रम ‘कोभिड –१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालको अध्यक्षसमेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । 

अधिकारीका अनुसार सो प्लान्टले प्रतिघण्टा ४० घनमिटर अक्सिजन उत्पादन गर्छ । अस्पतालमा अक्सिजन प्लान्ट जडान भएसँगै अब दमक र आसपासका क्षेत्रमा अक्सिनको समस्या नहुने उनले बताइन् ।  

सो अक्सिजन प्लान्टको सञ्चालन तथा मर्मत सम्भारको काम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज (युएनओपीएस) ले कम्तिमा ३ वर्षसम्म गर्नेछ । 

अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भइरहेकाले अब हरेक शय्यामा पाइपलाइनबाट अक्सिजन पु¥याउने लक्ष्य रहेको अधिकारीले बताइन् । विसं २०७३ मा स्वास्थ्य चौकीबाट स्तरोन्नति भएर हाल १५ शय्याको रुपमा दमक अस्पताल बनेको हो ।