काठमाडौँ / थप ६ लाख ६४ हजारभन्दा बढी खोप शुक्रबार नेपाल आएको छ । कोभ्याक्स सुविधा अन्तर्गत आज बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिएका छन ।

सरकारले आगामी १३ पुसदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर – किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।

OM Sai Pathibhara Hospital

नेपालले कोभ्याक्स सुविधामार्फत फाइजर खोपका १ लाख ६२० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो । सुरुमा उक्त खोप यस अघि खोप लगाउन छुटेका १२ वर्षमाथिका दीर्घरोगीहरूलाई उपलब्ध गराइएको थियो ।

सरकारले प्रदेश नं १ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने बताइएको छ ।