झापा / सिन्धुली जिल्लाको दुधौली नगरपालिका –११, डुडेगैरीमा सोमबार राति जङ्गली हात्तीले थप चार घर भत्काएको छ ।
यो सहित उक्त वडामा छ दिनभित्र जङ्गली हात्तीले २८ घर भत्काइसकेको स्थानीयले जनाएका छन् । वडा नं ११ का वडाध्यक्ष कुमार लामाका अनुसार सोमबार राति तीनवटा जङ्गली हात्तीले डुडेगैरीको मुसहर समुदायका चार घर भत्काउनुका साथै अन्न र फलफूलसमेत नष्ट गरेको थियो ।
स्थानीय बुद्धेश्वर सदा, गोले सदा, कतरिया सदा र लक्ष्मी सदाको घर भत्काएको वडाध्यक्ष लामाले जानकारी दिएका छन । उनका अनुसार मध्य रातमा हात्ती बस्तीमा छिरेपछि स्थानीयको भागाभाग भएको थियो ।
योसमेत माथिल्लो पत्रिङ्गा र डुडेगैरीमा गरी हात्तीले आक्रमण गरी २८ घर भत्काएको छ । जङ्गली हात्तीले घर भत्काएपछि पीडित परिवारको विचल्ली भएको छ ।
यसअघि सुरुमा घर भत्काएका १८ परिवारलाई शनिबार जिल्ला रेडक्रस शाखाले त्रिपाल, लत्ता कपडा, भाडा र दुधौली नगरपालिकाले खाद्यान्न सहयोग गरेको वडाध्यक्ष लामाले सुनाए ।
स्थानीयका अनुसार बाकी पीडित परिवार छिमेकीको घरमा शरण लिएका बसेका छन् । जङ्गली हात्ती नजिकैको जङ्गलमा रहेकाले अहिले पनि स्थानीयवासी त्रासमा रातभर जाग्राम बसेका छन् ।
विशेष गरी हात्तीले रातको समयमा दुःख दिने गरेकाले निद्रा माया मारेर रातभर जाग्राम बस्न बाध्य भएको स्थानीयवासीको भनाइ छ । हात्ती बस्तीमा आएपछि स्थानीयले थाल ठटाएर र धुनी बालेर हात्तीलाई धपाउने गरेका छन् ।
स्थानीयका अनुसार हात्तीले कृष्ण कुमार, रानीवती धामी, पदमबहादुर परियार, इनर धामी, नथुनी धामी, दीपक परियार, टेकबहादुर दमाईँ, टङ्क दमाइ र मेघबहादुर परियारलगायतको घर तथा अन्नबालीमा क्षति पु¥याएको छ ।
हात्तीले घरको बार भत्काउनुका साथै ढुकुटीमा राखेको धान, मकै सबै सखाप पारेको छ । हात्तीको आक्रमणबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको स्थानीयले बताएका छन् ।
दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत दिनहुँ हात्तीले घर भत्काएपछि स्थानीयमा त्रास छाएको बताउनुहुन्छ । डिभिजन वन कार्यालयलाई हात्तीको वासस्थान तर्फ धपाउनका लागि पहल गर्न अनुरोध गरिएको उनको भनाइ छ । दुधौली नगरपालिकामा बर्सेनि हात्तीले आतङ्क मच्चाउँदै आएको छ ।
डिभिजन वन कार्यालय सिन्धुलीले पर्सा राष्ट्रिय निकुञ्जबाट कोसीटापु राष्ट्रिय निकुञ्जमा बसाइ जाने क्रममा ती हात्ती आएको जनाएको छ । कार्यालय प्रमुख थिरबहादुर कार्कीले भने, ‘पर्सा राष्ट्रिय निकुञ्जबाट कोसीटापु राष्ट्रिय निकुञ्जमा हात्तीहरू वर्षमा एकदेखि दुई पटक बसाइँ सर्छन् । यसरी बसाइँ सर्दा उनीहरूले पुस्तौँदेखि प्रयोग गर्दै आएको आफ्नै बाटो प्रयोग गर्छन् । सोही क्रममा ती हात्ती दुधौलीमा देखा परेका हुन् ।’