काठमाडौँ / बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ ।

पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुरु गर्न लागिएको हो । 

OM Sai Pathibhara Hospital

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । पहिलो चरणमा १७ लाख बालबालिकालाई लगाउन लागिएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिने तयारी पूरा भएको बताए । 

पहिलो चरणमा अमेरिकी कम्पनीद्वारा निर्मित मोडर्ना खोप बालबालिकालाई लगाइने छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने जानकारी दिए । 

यो पटक विद्यालयमै खोप केन्द्र सञ्चालन गर्न लागिएको छ । तीन चरणमा गरी ३५ लाखभन्दा बढी खोप आइसकेको जानकारी दिँदै उनले मोडर्ना खोप लगाउने बालबालिका १७ लाखको सङ्ख्यामा रहेको बताए ।