बिर्तामोड / नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्वका लागि भएको निर्वाचनमा सभापति पदमा जितका लागि आवश्यक मत कसैले प्राप्त नगरेपछि पुन निर्वाचन हुने भएको छ ।

कांग्रेसको विधान अनुसार जितका लागि आवश्यक ५० प्रतिशत भन्दा वढी मत कुनै पनि उमेद्धारले ल्याउन नसकेपछि सभापति पदका लागि दोस्रो चरणको मतदान आजै हुने भएको हो । सभापति पदमा उमेद्धार बनेका पाँच जना मध्ये सबैभन्दा वढी मत ल्याउने दुई जनाबीच चुनावी प्रतिष्पर्धा हुने भएको हो ।

सभापतिका उमेद्धार शेरबहादुर देउवाले जितका लागि आवश्यक थप ८३ मत प्राप्त नगर्दा पुन निर्वाचन हुने भएको छ । सभापतिमा जितका लागि २३४१ मत आवश्यक पर्थ्यो। सबैभन्दा बढी मत पाएका शेरबहादुर देउवाले २२५८ मत पाएका छन्। उनले पाएको मत ४८.२३ प्रतिशत हो। उनका प्रतिस्पर्धी शेखर कोइरालाले १७२९ मत पाए। कोइरालाले पाएको मत ३६.९३ प्रतिशत हो।

देउवाले कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेका थिए। तर पहिलो चरणमा जित निकाल्न सकेनन्। उनलाई जितका लागि आवश्यक ८३ मत कम भएको हो।

दोस्रो चरणमा देउवाले उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालासँग अब प्रतिष्पर्धा गर्नु पर्नेछ ।

सोमबार भएको निर्वाचनमा सभापतिका उमेद्धार देउवाले २२५८ , कोइरालाले १७२९ , प्रकाशमान सिंहले ३७१ , विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए ।

आजै ३ बजेका लागि तय भएको दोस्रो चरणको निर्वाचनमा भने सबैभन्दा वढी मत प्राप्त गर्ने देउवा र कोइराला सहभागि हुन पाउने कांग्रेसको विधानले व्यवस्था गरेको छ ।

आजै हुने तय भएको दोस्रो चरणको निर्वाचन भने देउवालाई कठिन हुने भएको छ । सभापतिका उमेद्धार वर्तमान पार्टी सभापति एवं प्रधानमन्त्री समेत रहेका देउवा तेह्रौं महाधिवेशन भन्दा कमजोर देखिएकाले जितका लागि कठिन अवस्था रहेको छ ।

तेह्रौँ महाधिवेशनमा पार्टी भित्रका कायम गुटसँग गठबन्धन नबनाई प्रतिष्पर्धा गर्दा पनि देउवाले यसपटक भन्दा वढी मत ल्याएका थिए । यो पटक नेतृत्वका लागि भएको निर्वाचनमा देउवाले पार्टी भित्रको सिटौला समूहसँग गठबन्धन गरेका थिए ।

तेह्रौं महाधिवेशनमा पहिलो चरणको मतदानमा देउवाले १५६४ मत ल्याएका थिए। तेह्रौँ महाधिवेशनमा ३१४८ मत खसेको थियो भने पहिलो चरणको मतदानमा देउवा ४९.६८  प्रतिशत मत ल्याएका थिए । सो समयमा विजयका लागि आवश्यक ११ मत अपुग हुँदा दोस्रो चरणमा प्रतिष्पर्धाबाट बाहिरिएका सिटौलाको सहयोगमा उनी विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्दी रामचन्द्र पौडेलले ११६० मत ल्याएका थिए ।  

पहिलो चरणमा ३२४ मत ल्याएका सिटौलाको सहयोगमा देउवा पौडेललाई पराजित गर्दै पार्टी सभापति बनेका थिए । दोस्रो चरणको निर्वाचनमा ३१६१ मतदातामध्ये ३१४० मत खसेको थियो। त्यसमध्ये २२ मत बदर भएको थियो। जसमध्ये देउवाले १८२२ मत ल्याएका थिए । पौडेलले १२९६ मत प्राप्त गरेका थिए ।

देउवालाई कठिन
 
पहिलो चरणमा भएको निर्वाचनमा देउवा तेह्रौँ महाधिवेशनमा भन्दा कमजोर बनेको मत परिणामले देखाएकाले जितका लागि सहज नरहेको अड्कल काटिएको छ ।

दोस्रो चरणमा हुन लागेको निर्वाचनमा सभापतिका अन्य आकाङ्क्षीले देउवालाई साथ दिन कठिन बनिसकेकाले पनि उनीहरूको साथ कोइरालालाई रहेन अनुमान गरिएको छ । उम्मेद्वारी घोषणाको समयमा सभापतिका अन्य उमेदवारले नेतृत्व हस्तान्तरणलाई प्रमुख मुद्दा बनाएकाले कोईरालालाई सहयोग गर्नै पर्ने वाध्यतामा सिंह , निधी र गुरुङ रहेका छन् ।

दोस्रो चरणमा हुने निर्वाचनमा दोस्रो चरणको मतदातबाट बाहिरिएका उमेदवारले जसलाई सहयोग गर्छन , उसैले विजय प्राप्त गर्नेछ । सिंह र निधी विगतमा लामो समय देउवा समूहमा नै रहेर काम गरेका नेता हुन् । उनीहरु दुवै देउवासँग असन्तुष्ट बन्दै देउवा इतर समूहमा मिसिएका थिए ।

निर्वांचनको समयमा ईतर समुहमा साझा उमेदवार बन्न नसक्दा उनीहरु सभापतिका लागि निर्वाचनमा होमिएका थिए । निर्वाचनमा जाँदा उनीहरु दुवैले नेतृत्व हस्तान्तरणलाई नै प्रमुख मुद्दा बनाएका थिए । नेतृत्व हस्तान्तरणको मुद्धाकै कारण आफ्नो भावी राजनिती जोगाउन समेत उनीहरुलाई देउवालाई सहयोग गर्न कठिन अवस्था बनिसकेको छ ।  

सभापतिका उमेद्धार निधीले त मत माग्ने क्रममा नै दोस्रो चरणको निर्वाचनमा देउवालाई हराउन इतर समूह एक ठाउँमा उभिने सार्वजनिक रुपमा नै घोषणा गरेका थिए ।

यसैबिच सिंहले देउवासँगको भेटपछि उनलाई सहयोग गर्ने बचन दिएका छन् । उनले सार्वजनिक रुपमा नै देउवाले विधान संसोधन र विगतमा गरेका गल्ति नदोर्याउने बचन दिएकाले देउवाले आफूले सहयोग गर्ने बताएका छन् । तर उनको समूहमा रहेका प्रभावशाली नेता विश्व प्रकाश शर्मा भने निर्वाचनमा देउवाले उमेद्धार नबनाएकाले कोईरालालाई सहयोग गर्ने कोइराला पक्षको बुझाई रहेको छ । महामन्त्रीका बलियो दावेदार मानिएका उनले अन्य पदमा निर्वाचन भईसकेकाले भावि राजनिती हेरेरै कोईरालालाई सहयोग गर्ने शेखर समूहको बुझाई छ ।

सिंह समुहमा नै रहेकी उपसभापतिकी उमेद्धार सुजाता कोइरालाले समेत पार्टी नेतृत्व आफ्नो परिवारमा आउने अवस्था बनेकाले आफ्ना दाजु शेखरलाई सहयोग गर्ने मानिएको छ ।

स्वतन्त्र रुपमा उपसभापतिमा उमेद्धार बनेका महेश आचार्य , केन्द्रिय सदस्य शशांक कोइराला र निर्वाचन प्रकृयाबाट बाहिरिएका रामचन्द्र पौडेलले पनि दोस्रो चरणमा हुने निर्वाचनमा खुलेरै शेखरलाई सहयोग गर्ने अनुमान गरिएको छ ।

पहिलो चरणमा देउवासँग अप्रिय गठबन्धन गरेको आरोप खेपेका सिटौला समूहको मत पनि कोईरालालाई नै जाने खतरा समेत कायम रहेको छ । निर्वाचनमा पराजय भोगेपछि देउवा समूहसँग रुष्ट बनेका सिटौला समुहका नेता प्रदिप पौडेल लगायत पनि नेतृत्व हस्तान्तरणको पक्षमा रहेकाले उनीहरूको समेत कोइरालाले साथ पाउन सक्ने छन् ।

सकृय बन्दै शक्ति केन्द्र र अन्य दल

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको सभापतिमा जारी निर्वाचन परिणामले सत्ता र मुलुकको राजनितीमा नै प्रभाव पार्ने भएकाले दोस्रो चरणको निर्वाचन हुने भएपछि अन्तराष्ट्रिय शक्ति केन्द्र र अन्य दलका शिर्ष नेता पनि सकृय भएका छन् ।

सत्तारुढ दल र अमेरिका सहितका पश्चिमा मुलुकले देउवालाई विजय बनाएर सत्ता अनि एमसीसीसँग जोडिएका स्वार्थ पूरा गर्न सकृयता बढाएको कांग्रेस नेताहरुले नै बताएका छन् ।

डा. शेखर भन्दा बलिया उमेद्धार मानेर भारतीयहरुले सहयोग गरेको मानिएका सिंह र निधी निर्वाचनको दौडबाट बाहिरीएकाले पूरानो सम्वन्ध रहेको कोइराला परिवारका सदस्य नै जिताउन भारतीय लाईन सकृय बनेको छ । भारतको संस्थापन पक्ष भाजपा र पूरानो शक्ति कांग्रेस आई निकटहरुले सिंह र निधीलाई कोईरालालाई सहयोग गर्न भन्दै दवाव दिन थालेको बताईएको छ ।

कोइराला पक्षले पनि दोस्रो चरणमा भारतीय पक्षले सहयोग गर्ने विजयी हुने देखेर सो काममा विश्वास पात्र खटाएको स्रोतहरुले जानकारी गराएका छन्।

अमेरिका र युरोपेलि युनियन सहित सत्तारुढ दलका शिर्ष नेताले भने सत्ता सहकार्य जोगाउनका लागि देउवाको जित आवश्यक रहेको भन्दै देउवालाई विजय बनाउन लविङ थालेका छन् । अमेरिका र युरोपेली मुलुकले भने एमसीसी र तिब्बत मामिलाको विषयलाई जोडेर देउवालाई विजय बनाउन आफ्ना दुतलाई सकृय बनाएको नेताहरुले जानकारी गराएका छन् ।

प्रमुख प्रतिपक्षि एमाले र लोसपा सहितका दलले भने आफूहरुलाई सत्ताच्युत बनाएर पुगेका देउवालाई सभापतिमा दोहोरिन नदिदा मुलुक निर्वाचनमा होमिने विष्लेषण गरेर देउवालाई हराउन केहि नेतालाई जिम्मेवारी नै दिएर खटाएको वताईएको छ ।