कालीकोट / तिलागुफा नगरपालिका –१ स्थित मालिका माविको कक्षा १० मा २३ जना विद्यार्थी भर्ना भएका छन् । अहिले विद्यालयमा पठनपाठन सञ्चालन भइरहेको छ । तर कक्षा १० मा एक जना पनि विद्यार्थी आउँदैनन् । ‘चिसो पनि बढ्यो,’ विद्यालयका शिक्षक प्रजापति चौलागाइँले भने ‘सबै विद्यार्थी तिहार सकेर सुर्खेततिर ट्युसन पढ्न गए ।’ 

शिक्षकको दरबन्दी नहुँदा पढाइ नहुने भन्दै विद्यार्थीहरू ट्युसन पढ्न सुर्खेतमा, कोही अभिभावकसँगै व्यापारमा छन् 

OM Sai Pathibhara Hospital

विद्यार्थी नआएपछि घाम ताप्दै कालीकोटको तिलागुफा –१ बजेडीचौ र स्थित मालिका माविका शिक्षकहरू ।  

विद्यालयमा मावि तहका शिक्षकको दरबन्दी नहुँदा पढाइ नहुने भन्दै विद्यार्थीहरू ट्युसन पढ्न सुर्खेत गएका हुन् । कतिपय विद्यार्थी अभिभावकसँग व्यापार गर्न पनि जाने गरेका छन् । कोरोनाको महामारी नहुँदासम्म हिउँदे बिदा हुने गरेको विद्यालयमा अहिले खुल्ने र बिदा हुने समय तालिका पनि निश्चित छैन । विद्यालयमा यो वर्ष भदौ १३ गतेदेखि पठनपाठन सञ्चालन भएको हो ।

‘भदौमा विद्यालय खुले पनि बीचमा दसैँतिहार परेकाले बिदा भयो,’ अर्का शिक्षक वीरबहादुर बुढाले भने, ‘१० कक्षाका विद्यार्थी एईईको तयारी गर्न बाहिर गएर ट्युसन पढिरहेका छन् ।’ मंसिर लागेसँगै विद्यार्थीहरू नआएको उनले जानकारी दिए ।

विद्यालयमा विषयगत शिक्षक नभएपछि ऋण सापटी गरेर बालबालिकालाई ट्युसन पढाउन पठाएको अभिभावकको गुनासो छ । ‘विद्यालयमा अप्ठ्यारो विषयको पढाइ नै हुँदैन,’ कक्षा १० का छात्र नमराज बुढाका अभिभावक नरेश बुढाले भने, ‘त्यसैले कर्जा कारेरै भए पनि ट्युसन पढ्न जिल्ला बाहिर पठाउनुपर्छ ।’

अभिभावकको सहयोगबाट माध्यमिक तह सञ्चालनमा ल्याइए पनि मावि तहका एक जना पनि दरबन्दीका शिक्षक छैनन् । विद्यालयका अनुसार प्रावि तहमा ५ जना मात्र स्थायी शिक्षक छन् भने निमावि तह ३ राहत र २ जना निजी स्रोतका शिक्षकले धानिरहेका छन् ।

कक्षा १० मा १३ छात्र र १० छात्रा भर्ना भए पनि शिक्षक नहुँदा विद्यालय सञ्चालन गर्न समस्या भएको वडाध्यक्ष दलबहादुर कटुवालले गुनासो पोखे । ‘अभिभावकबाट पैसा उठाएर शिक्षक पाल्नै ठिक्क छ,’ उनले भने, ‘छात्रवृत्ति, दिवा खाजालगायतको रकम पनि निजी स्रोतका शिक्षकलाई दिनुपर्ने बाध्यता छ ।’ उनले निःशुल्क शिक्षा नारामा मात्र सीमित रहेको बताए ।

सोमबार तिलागुफा नगरपालिकाका जनप्रतिनिधि सहितका कर्मचारीले विद्यालयको अनुगमन गर्ने क्रममा अन्य कक्षाका विद्यार्थीको पनि न्यून उपस्थित थिए । कक्षा ९ मा ४७ जना भर्ना भएकोमा २७, कक्षा ८ मा ४४ जनामा २४, कक्षा ७ मा ३५ जनामा २०, कक्षा ६ मा ३१ मा २३ जना विद्यार्थी मात्र विद्यालयमा भेटिए । प्रावि तहमा पनि विद्यार्थी संख्या पनि न्यून छ ।

अभिभावकका अनुसार कालिका मावि छाप्रे, दुर्गा मावि रतडा, शिवालय मावि चिल्खाया, महादेव मावि फोइलगायतका विद्यालयका विद्यार्थी पनि ट्युसन पढ्न सदरमुकाम मान्म र जिल्ला बाहिर गएका छन् । विद्यालय खुला भए पनि विद्यार्थी नियमितताको समस्या रहेको नगर प्रमुख रतनबहादुर शाहीले बताए ।

उनका अनुसार कोरोना महामारी, दसैंतिहारजस्ता चाडपर्व र हिउँदे यामको चिसोले पठनपाठनमा बाधा पुगेको छ । ‘तै पनि शैक्षिक क्षति कम गर्न अनावश्यक बिदा कटौती गरी विद्यालय सञ्चालनमा जोड दिएका छौं,’ उनले भने, ‘यो वर्ष शैक्षिक क्षेत्रमा झन्डै ५ करोड रुपैयाँ विनियोजन गरेका छौं ।’
विद्यार्थी नआएपछि घाम ताप्दै कालीकोटको तिलागुफा –१ बजेडीचौ र स्थित मालिका माविका शिक्षकहरू ।