विराटनगर / बहुचर्चित ३३ केजी सुन तस्करी प्रकरणमा संलग्न एवं चूडामणि उप्रेती गोरे समुहका लगानीकर्ता मानिएका झापाका कृष्ण गोपाल अग्रवाल अदालतको आदेशमा धरौटीमा छुटेका छन् ।

तत्कालीन समयमा सरकारले बनाएको ईश्वरचन्द्र पौडेल नेतृत्वको छानविन समितिले गोरे समुहका लगानीकर्ता ठहर गरेका अग्रवाल दुई वर्ष अघि नै दुबईमा पक्राउ परेका थिए ।

OM Sai Pathibhara Hospital

दुबईमा पक्राउ परेका अग्रवाललाई दुई दिन अघि इन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याएको थियो । दुबई सरकारले डिपोर्ट गरिदिएपछि फरार रहेको उनलाई पक्राउ गर्न नेपाल प्रहरी सफल बनेको थियो ।

पक्राउ पछि विराटनगर ल्याइएका अग्रवाल जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएपछि छुटेका हुन् ।

मंगलबार जिल्ला प्रहरी कार्यालयले अग्रवाललाई जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । मंगलबार नै उनी न्यायाधीश लम्सालको आदेशमा रिहा भएका हुन् । अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए धरौटी बझाएपछि उनी मंगलबार ने रिहा भएको जानकारी गराएका छन् ।

गोरे समुहका लगानीकर्ता भनेर काले उपनामले चिनिने अग्रवाल उर्लावारीका सनम शाक्यको हत्यापछि फरार भएका थिए । उनको हत्यापछि बनेको छानविन समितिले अग्रवाललाई समेत लगानीकर्ताको समूहका सदस्य मान्दै दोषी किटान गरेको थियो ।

शाक्य हत्या अभियोगमा नाइके भनिएका गोरे सहित ८ जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो भने बाँकीले सफाइ पाएका थिए ।

अग्रवाल सहित गोरे समुहमा संलग्न मानिएका माथि छानविन समितिले जिल्ला प्रहरी कार्यालय मोरङ मार्फत आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा’ चलाएको थियो ।

सुन तस्करीको अभियोगमा भने पक्राउ परेका ५६ जनाका विषयमा भने यसअघि नै फैसला सुनाएको थियो । हराएको सुन नभेटिएको तर्क पेश गरेर उनीहरु सबैलाई उन्मुक्ति दिइएको थियो ।  ५६ जना प्रतिवादी मध्ये कर्तव्य ज्यान मुद्दामा जोडिएका ८ जना प्रतिवादीलाई अदालतले दोषी ठहर गरेर बाँकी ४८ जना प्रतिवादीलाई सफाइ दिएको थियो । सफाइ पाउनेमा प्रहरीका उच्च अधिकारी पनि थिए ।


जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो ।

मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।