मुटुरोग
उच्च रक्तचाप, भल्बमा समस्या भएको, मुटुको पम्पमा समस्या र रक्तनलीमा कमजोरी तथा मुटुमा बोसो जमेको वा जन्मजात विभिन्न मुटुरोगका समस्याबाट नेपालमा लगभग सबै उमेर समूह प्रभावित छन्। यस्ता मुटुसम्बन्धी समस्या खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोडिएका छन्। खानपानमा ध्यान नदिँदा समस्या बढ्ने जोखिम उच्च रहने भएकाले मुटुरोगीले विशेष ध्यान दिनुपर्ने हुन्छ।
जुनसुकै मुटुसम्बन्धी रोग भएका व्यक्तिले बोसोयुक्त खाना खानुहुँदैन। खासगरी रातो बोसोयुक्त मासु, तेलमा फ्राई गरेर खाइने अन्य खाद्यवस्तुसमेत खानुहुँदैन। काँचो नुन पूर्ण रूपमा बन्देज गर्नुपर्छ। काँचो मासु, सलाद, अचार वा अन्य परिकारमा नुन राखेर खाँदा झन् समस्या निम्तिन्छ। नुनले शरीरमा पानीको मात्रा बढाउने र कमजोर मुटुले पम्प गर्न नसक्दा शरीरमा पानीको मात्रा बढी हुने हुँदा हातखुट्टा सुन्निने, फोक्सोमा पानी भरिनेजस्ता समस्या देखिन्छन्।
मुटुलाई असर गर्न सक्ने कोल्डड्रिंक्स, धूम्रपान, मद्यपानसमेत गर्नुहुँदैन। प्याकेटका खानेकुरामा नुन र ट्रान्सफ्याटको मात्रा बढी हुने भएकाले यस्ता खानेकुरासमेत खानुहुँदैन। एकैपटक धेरै मात्रामा खानेकुरा नखाने, सकेसम्म सेतो मासु खाने, रातो मासुहरू खानैपरेमा बोसो कम भएको मासु मात्र खानुपर्छ। फ्राई गरेको मासुभन्दा तेल, मसला, नुन कम राखेर पकाएर वा उसिनेर मासु खान सकिन्छ। सेकुव र धेरैपटक प्रयोग गरिएको तेलमा पकाएको खाना नखाने तथा सकेसम्म नियमित व्यायामलाई निरन्तरता दिनुपर्छ। बिरामीले मात्र नभई परिवारका सदस्यहरूले समेत बिरामीका अगाडि धूम्रपान गर्नुहुँदैन।
मधुमेह
चाडबाडमा कोल्डड्रिंक्स, मैदाबाट बनेका खानेकुरा, मिठाईजस्ता चिनीको मात्रा अत्यधिक हुने खाद्य पदार्थहरू खाने प्रचलन छ। शरीरमा चिनीको मात्रा बढी भएर मधुमेहको समस्या भोगिरहेका व्यक्तिहरूले यी खाद्य पदार्थहरू पूर्णतया बन्देज गर्नुपर्छ।
खानपानसँगै मधुमेहका बिरामीलाई व्यायाम निकै आवश्यक हुन्छ। खाना पचाउन र शरीरमा चिनीको मात्रा सन्तुलित राख्नका लागि खानापछि व्यायाम आवश्यक हुन्छ। धेरैजसो बिरामीले मर्निङवाक गर्ने र दिउँसो खाना खाएर आराम गर्छन्, जुन पर्याप्त हुँदैन। तसर्थ, खाना खाएपछि नियमित व्यायाम गर्न नबिर्सौँ।
कोक, फ्यान्टाजस्ता कोल्डड्रिंक्स, प्याकेटका जुस, मिठाईबाट टाढै बस्नुपर्छ। बोसोयुक्त खानेकुरा खानुहुँदैन। प्याकेटका खानेकुरा, फास्टफुडहरू, माटोमुनि फल्ने आलुजस्ता तरकारीसमेत कम प्रयोग गर्नुपर्छ। भातको सट्टामा तरकारी, सागपात, गेडागुडी खान सकिन्छ।
ग्यास्ट्रिक, कब्जियत
चाडबाडमा मासुको अत्यधिक प्रयोगले पाचन प्रणालीमा समस्या निम्त्याउँछ। अझ विशेष गरी खसीको मासु र पोलेको, तारेको वा काँचो मासु खाँदा नपच्ने वा ढिला पच्ने हुँदा पखाला लाग्ने, वाकवाकी आउने र कब्जियत हुन्छ।
खासगरी बच्चाहरूलाई अत्यधिक मासु र बजारको खानेकुरा खुवाइने हुँदा ग्यास्ट्रिक र कब्जियतजस्ता समस्या हुन्छ। पोलेको मासु सकेसम्म नखानुस्। पोलेको सेकुवामा कार्बनको मात्रा हुने भएकाले पेटमा समस्या निम्त्याउँछ। पकाएको मासु प्रयोगमा ल्याउने र मासुसँगै अन्य सागपात र तरकारीसमेत खानुपर्छ।
बाथ
शरीरमा युरिकएसिड बढाउने खानेकुराहरू खानुहुँदैन। मासुजन्य खानेकुराले शरीरमा सुजन निम्त्याउने भएकाले बाथरोग भएका व्यक्तिले मासुजन्य खानेकुरा सीमित मात्रामा खानुपर्छ। फोक्सो, कलेजो, आन्द्राजन्य भित्री मासुसमेत बाथका बिरामीले खानुहुँदैन। मासुको सट्टामा अण्डा र अन्य तरकारीहरू प्रयोगमा ल्याउन सकिन्छ।
यस्तै, चिसो खानेकुरा वा पेयपदार्थहरू खानुहुँदैन। बाथका रोगीले सामान्यतया खानेकुरा बार्नुपर्दैन, तर शरीरमा पानीको मात्रा भने घट्न दिनुहुँदैन। जुस वा अन्य इनर्जी ड्रिंक्सभन्दा शुद्ध खानेपानी पिउनुपर्छ। चिसो ठाउँमा जाँदा न्यानो कपडा लगाउने, घामबाट समस्या भएकाहरूले छालाको स्याहार गर्ने र घुँडा दुख्ने बिरामीहरूले धेरै उकालो र ओरालो हिँड्नुहुँदैन।
दम–श्वासप्रश्वास
दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिले खानेकुरा बार्नुपर्छ भन्ने छैन। तर, अत्यधिक तेल, बोसो, नुन वा गुलियो भएको खानेकुराबाट टाढा बस्नुपर्छ। धूम्रपान र मद्यपान गर्नुहुँदैन। भिडभाडमा जाँदा वा एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा मौसम परिवर्तनसँगै आउन सक्ने संक्रमणहरूबाट सचेत हुन आवश्यक छ। डेँगु, टाइफाइड, ज्वरोजस्ता समस्याबाट बच्न मौसमअनुसार कपडा लगाउन र नियमित व्यायाम गर्न छुटाउनुहुँदैन।
अक्सिजन लिइरहेका दम र श्वासप्रश्वाससम्बन्धी बिरामीले अक्सिजन छुटाउनुहुँदैन। त्यस्तै, नियमित औषधिहरू छुटाउनुहुँदैन। र, विशेषगरी कुनै स्वास्थ्य समस्या देखिएमा चाडबाड नभनीकन आवश्यक उपचार वा चिकित्सकको सल्लाह लिन अति आवश्यक छ। खासगरी यात्रा गर्दा वा मौसम परिवर्तनको कारणले फोक्सोसम्बन्धी समस्याहरू बढ्ने जोखिम रहने भएकाले विशेष ख्याल राख्नुपर्छ।
मिर्गौला र कलेजोरोग
अत्यधिक नुन, चिनी, मासु वा सुक्खा खानेकुरा र क्याफिनयुक्त खानेकुराबाट मिर्गौलाका रोगीहरू टाढै बस्नुपर्छ। शरीरमा नुन बढी हुँदा रक्तचाप बढेर मिर्गौलामा समस्या देखिन्छ। फ्राई गरिएको मासु, ससेज, फ्रिजमा राखिएका खानेकुरा, चिप्स आदि खाद्य पदार्थ मिर्गौलाका रोगीले खानुहुँदैन।
चिनीयुक्त वस्तु, सोडा, फ्राई गरिएका खानेकुरासमेत मिर्गौलाका लागि हानिकारक हुन सक्छन्। प्रशोधित खानेकुराले समेत मिर्गौलामा प्रत्यक्ष रूपमा असर पुर्याइरहेको हुन्छ।
बोसोजन्य खानेकुरा, उच्च प्रशोधित, नुन र चिनीको मात्रा बढी भएका खानेकुराले कलेजोलाई समेत असर गरिरहेको हुन्छ। कलेजोका बिरामीले विशेष गरी बोसो, धूम्रपान र मद्यपानबाट टाढा बस्नुपर्छ। यसबाहेक, नियमित उपचार डायलाइसिस र औषधिको सेवन गर्न छाड्नुहुँदैन। सामान्य नियमित व्यायामलाई पनि निरन्तरता दिनुपर्छ।