बिर्तामोड / विश्व स्वास्थ्य सङ्गठनले कोरोना सङ्क्रमितको उपचारका क्रममा निको भएका सङ्क्रमितको ‘ब्लड प्लाज्मा’ प्रयोग नगर्न सुझाव दिएको छ ।

विश्वव्यापी अध्ययनका क्रममा सङ्क्रमितको अवस्थामा सुधार नभएको  र भेन्टिलेटरको आवश्यकता पनि नघटेकाले डब्ल्यूएचओले ब्लड प्लाज्मा प्रयोग नगर्न सुझाव दिएको टीआरटी वर्ल्डले जनाएको छ ।

अध्ययनका क्रममा संक्रमणमुक्त व्यक्तिको ब्लड प्लाज्माबाट बिरामीको अवस्थामा सुधार नभएको र भेन्टिलेटरमा राख्नु पर्ने अवस्था कायम रहेकाले डब्ल्यूएचओको त्यस्तो भनाई सार्वजनिक भएको हो।

डब्ल्यूएचओले सोमबार एक विज्ञप्ति जारी गर्दै ब्लड प्लाज्मा उपचार विधिमा धेरै समय लाग्ने गरेकाले समेत उपचारमा केही मुलुकले अपनाएको यो विधि प्रयोग नगर्न भनेको छ ।

सामान्य, गम्भीर र अति गम्भीर झण्डै १६ हजार २३६ कोभिड संक्रमितमा १६ पटक गरिएको परीक्षणपछि विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । विज्ञहरूको सुझाव ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित भएको छ ।