बिर्तामोड / नेपाल सरकारको आग्रहमा बेलायतले रोजगारीमा दश हजार नेपाली नर्सलाई लाने तयारी गरेपछि उनीहरूले पाउने सेवा सुविधाको विषयमा चर्चा हुन थालेको छ । बेलायतले नर्स लान थालेको छलफलमा बेलायतीलाई जसरी नै पारिश्रमिक दिने प्रस्ताव गरेकाले जान चाहने बिच तिव्र प्रतिष्पर्धा हुने देखिएको छ ।
बेलायतले आफ्ना मुलुकका नर्सलाई मासिक ४ हजार पाउन्ड स्टर्लिङ सम्म दिने गरेकाले नेपाली नर्सले पनि सोही बराबर पाउने भएकाले पनि बेलायत जान चाहने हजारौं हुने अनुमान गर्दै सरकारले छनौटको विधिका लागि समेत गृहकार्य सुरु गरेको छ ।
नेपाल सरकारको अनौपचारिक प्रस्तावमा बेलायत सकारात्मक बनेपछि बेलायती सरकारले औपचारिक रुपमा नै लिखित पत्राचार गर्दै आफ्नो देशमा सञ्चालित नेशनल हेल्थ प्रोग्राम मार्फत नेपालीलाई लान चाहेको प्रस्ताव गरेपछि यो विषय अघि बढेको हो ।
बेलायत सरकारले सो कार्यक्रम अन्तरगत विश्वभरबाट १ लाख नर्स आफ्नो मुलुक लादैंछ । १ लाख नर्स मध्ये १० हजार नेपाली लाने बेलायत सरकारले प्रस्ताव गरेको छ । जुन नेपाल र नेपालीका लागि ठुलो मौका समेत हो । बेलायतले भारत , फिलिपिन्स र नेपाल सहितका मुलुकबाट नर्स लान तयारी थालेको बताईएको छ ।
नेपाली नर्सलाई रोजगारीको प्रस्ताव आएपछि श्रम तथा रोजगार मन्त्री कृष्ण गोपाल श्रेष्ठको अग्रसरतामा मन्त्रालयले सहसचिव बिनु बज्राचार्यको संयोजकत्वमा समिति नै बनाएर काम अघि बढाएको छ । मन्त्रालयले बनाएको समितिले नर्स जाने प्रकृया , मापदण्ड , छनौटको विधि र प्रकृयाका विषयमा टुङ्गो लगाउने प्रवक्ता डन्डुराज घिमिरेले जानकारी गराएका छन् ।
अंग्रेजी भाषामा निपूर्ण र अनुभव भएकाहरू मध्येबाट छनौट गरेर लाने गरी मापदण्ड बनाउने काम भइरहेको मन्त्रालयका अधिकारीले जानकारी गराएका छन् ।
नर्सहरूको तथ्याङ्क राख्ने निकाय नर्सिङ काउन्सिलले काउन्सिलमा हालसम्म ६६ हजार नर्स दर्ता रहेको बताएका छन् । दर्ता भएका नर्स मध्ये करिव २४ हजार रोजगारी र पढाइका सिलसिलामा विदेशमा गएको अभिलेखमा देखिने काउन्सिलले जनाएको छ । नेपालमा रहेको मध्ये करिव ८ हजार सरकारी स्वास्थ्य संस्थामा र बाकी ३३ हजार जति निजी स्वास्थ्य संस्थामा न्यून सेवा सुविधामा काम गरिरहेको अनुमान गरिएको छ ।
नेपाली नर्स खाडी मुलुक सहित इजरायल जाने गरेका छन् । इजरायलले केयर गिभरका रुपमा नेपाली नर्स लाने गरेको छ भने व्यक्तिगत रुपमा जानेको संख्या पनि ठुलो रहेको मन्त्रालयले जनाएको छ ।